
जसपाका नेपालका पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित सभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।
साहलाई प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।
साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए।
पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए।
तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको उनले बताए।