२०८१ फाल्गुन २४, शनिबार ०७:०९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैटौँपटक प्रधानमन्त्री बनेर रेकर्ड बनाउने धुनमा रहेका छन् । अहिले उनी फेरि आफू प्रधानमन्त्री बन्ने धुनमा रहेको भन्दै उनको अर्जुनदृष्टि सिंहदरबारमै अड्किएको बताइन्छ । महोत्तरीको मनराशिश्वा नगरपालिकामा शुक्रबार आयोजित सभामा नेपाली कांग्रेसका सभापति देउवाले आफू फेरि प्रधानमन्त्री बन्ने बताएर ध्येयलाई खोलेका छन् ।

आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने दृढ संकल्प लिएको सभापति देउवाले बताए । भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने, ‘अहिले एउटा पार्टीको सरकार बन्न निकै नै गाह्रो छ । त्यसकारण दुई वटा पार्टी मिलेर सरकार बन्यो, अहिले ओलीजी हुनुहुन्छ । त्यसपछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो । म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु ।’ खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने उनले बताए ।

कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउनेसमेत सभापति देउवाले स्पष्ट पारे । सभापति देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताए । उनले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने उल्लेख गरे । सभापति देउवाले भने, ‘स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ ।’

स्थानीय तह दैननदिन काममा जनतासँग सोझो सरोकारका हुने हुँदा यहाँको प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो । कृषि क्षेत्रको विकास, स्थानीय पूर्वाधार, प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षणदेखि जनताका दैनिक सरोकारका काम स्थानीय तहबाट सम्पादन हुने हुँदा यहाँको कामले केन्द्रीय र प्रदेश सरकारका काम पनि जनताकेन्द्रित हुँदै जाने उहाँको ठम्याइ छ । संघीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने उनले बताए ।

स्थानीय तहले स्थानीय कृषि उत्पादनको बजार प्रवद्र्धन र आधुनिकीकरणमा ध्यान दिनपर्ने उनले बताए । उनले भने, ‘स्थानीय सीपको प्रवद्र्धन, यसका लागि समुचित तालिमको व्यवस्था र रोजगारीका सम्भावना स्थानीय तहले पहिल्याउन पर्छ’, उनले भने, ‘ खासमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषि सडक, बजार र सिँचाइको प्रबन्धमा ध्यान दिन जरूरी छ ।’ यस्ता काममा सरकारसँगको समन्वयमा आफूले पहलकदमी लिने उनले प्रतिबद्धता गरे ।

सो कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले महोत्तरी जिल्ला र मनराशिशवा नगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सपुत जन्माउने ठाउँ रहेको चर्चा गरे ।उनले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका शहीद मिथिलेश दुबेको जन्मभूमि हो, यहाँ स्थानीय तहले गर्ने काम उनको शहादतलाई सम्झेर गर्नुपर्छ । दुबेले २०३६ सालको ऐतिहासिक जनआन्दोलनमा मनराशिशवाकै कटैया थाना नजिक शहादत प्राप्त गर्नुभएको थियो ।’ नगरप्रमुख पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार राय, शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारी र कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले शुभकामना व्यक्त गरेका थिए ।

Comment


Related News