२०८१ फाल्गुन २४, शनिबार ०८:३९

धनुषामा सहकारीको ८० लाख रुपैयाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३ स्थित हरिहरपुरका ४० वर्षीय भरतकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले २०८१ वैशाख २४ गते धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुरमा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले बोकेको ८० लाख रुपैयाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा महतोलाई पक्राउ गरिएको बताए । उनलाई बुधबार पक्राउ गरी अदालतको आदेशानुसार सिन्धुली कारागार चलान गरिएको उनले बताए ।

सहकारीका कर्मचारी महतोले जनकपुरधामस्थित हिमालयन बैंक लिमिटेड शाखाबाट सो रकम झिकेर ज ७ प ५१५१ नम्बरको मोटरसाइकलमा सवार भएर रघुनाथपुर जाने क्रममा जनकपुरधाम–१९ स्थित थुमौनामा लुटिएका थिए । उनलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका तीन जनाको हतियारधारी समूहले सो रकम लुटपाट गरेका थिए ।

प्रवक्ता सिंहले जनाए अनुसार अनुसन्धानको क्रममा प्रहरीले विभिन्न प्रमाणहरू संकलन गर्दै जाँदा लुटपाटमा संलग्न मुख्य अभियुक्त भरतकुमार महतो रहेको पुष्टि भइसकेको छ । फरार रहेका महतोको खोजी गर्दै जाँदा उनलाई धनुषाबाट पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News