अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका–५ का २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले वि.सं. २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताए ।
नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगर स्थित सिटिजन्स बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उनले बताए । दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।


