
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लीलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरमा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका तेली गत स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा लोसपाबाट उम्मेदवार बनेका थिए। तर ३ हजार ३३२ मतसहित उनी दोस्रो स्थानमा रहे।
माओवादी प्रवेश गर्दै तेलीले कांग्रेस, एमाले पहिचानविरोधी भएको आरोप लगाए।
मधेसवादी दल अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरू यसमा प्रवेश गरेको बताए।