२०८१ फाल्गुन २४, शनिबार १२:२३

जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तरराष्ट्रिय सङ्गठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ ।

पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका सङ्गठन तथा अन्तरराष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने र आपसी सम्बन्ध बढाउँदै लगिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपा नेपालको अन्तरराष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति तथा पार्टी सदस्यलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए । उनले भने, ‘विश्वमा स्थापित राजनीतिक दलहरुको एसियाली साझा संस्था ‘सोक्डेम एसियाप्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको ‘स्टेरिङ’ कमिटिको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।’

त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिवएलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ । ‘प्रोग्रेसिवएलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरुको अन्तरराष्ट्रिय सङ्गठन हो । यसले समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानका रुपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको सो पार्टीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News