२०८१ फाल्गुन २४, शनिबार १६:४५

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको रहस्यमय हत्याकाण्डको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

भूकम्पीय पुनर्निर्माण तथा पुन:र्स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा शनिवार डोटीको दिपायलमा प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले आफू गृहमन्त्री भएर आउने बित्तिकै निर्मला पन्तको हत्याकाण्डबारे गहिरो ढंगले थप अनुसन्धान गर्न निर्देशन दिएको दाबी गरे ।

‘यो मानवता विरुद्धको जघन्य अपराध हो, यो घटनाका दोषीहरुलाई सजाय नभएसम्म निर्मलाप्रति न्याय हुन सक्दैन’ गृहमन्त्री लेखकले भने ‘मैले गृहमन्त्री भएर आइसकेपछि थप अनुसन्धान गर्न निर्देशन गरिसकेको छु र अनुसन्धान जारी छ ।’ उनले निर्मला पन्तको घटना लगायत महिलामाथि हुने यस्ता प्रकारका घटनाहरूका विषयमा सरकार गम्भीर भएको बताए ।
‘महिलाहरूमाथि हुने घटनाहरूलाई हामी सबैले गम्भीर रूपमा हेर्न जरुरी छ, जस्तोसुकै होस्, अपराधलाई अपराधीकै रूपमा हेर्नु पर्छ’ सञ्चारकर्मीहरूद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले भने ‘अपराधीलाई पनि अपराधीकै रूपमा हेर्नु जरुरी छ ।’ उनले महिलाहरूमाथि हुने अपराधका घटना न्यून गर्नमा सञ्चारकर्मीहरुले पनि चेतनामूलक सन्देशहरु प्रकाशन एवं प्रसारण गर्नु पर्ने बताए । निर्मला हत्या प्रकरण आफूले गम्भीरताका साथ लिएको र घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले दाबी गरे ।
२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टा खामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन राजा फर्काउने भन्दै विभिन्न समूहहरुले गरेका प्रदर्शनबारे प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यो असम्भव भएको बताए । “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प निरङ्कुशता हुन सक्दैन” उनले भने ‘समाज विज्ञानको नियम अनुसार अगाडि बढेको समाज पछाडि फर्किँदैन ।’ उनले आन्दोलनबाट फालिसकेको राजतन्त्र फेरी फर्किने कुनै सम्भावना नभएको बताए ।
‘क्रान्तिबाट परास्त गरिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छन्, तर हाम्रो देशमा नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गर्न पाउने गरी पूर्व राजालाई राखिएको छ’ उनले भने ‘हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श छ ।’ उनले राजा फर्काउँछौँ भनेर लोकतान्त्रिक व्यवस्था विरुद्ध आन्दोलन गर्ने छुट पनि लोकतन्त्रलेनै दिएको बताए । लेखकले पूर्व राजा ज्ञानेन्द्रलाई शासन सत्तामा आउन मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News