
सत्तारुढ जनमत पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा अध्यक्ष सीके राउतले चार बुँदे आरोप लगाउँदै आफ्नै पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गरेका छन् । उनलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण माग्दै निलम्बन गरेको छ ।
समितिका सदस्य सचिव अनिता कुमारी मण्डलद्वारा जारी गरिएको विज्ञप्तिमा जनमत पार्टीको विधान २०७५ को धारा ३९ (क) को उपधारा १, २, ३, ४, ५, ६, ८, १०, १३, १४ उल्लंघन गरेको भन्दै सात दिने अल्टिमेटमसहितको स्पष्टीकरण मागेको र यसका साथै कारबाही प्रक्रियाभर कोषाध्यक्षको पदबाट समेत निलम्बन रहने उल्लेख छ ।
यता जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष यादवले पार्टी अध्यक्ष राउतले व्यक्तिगत रिसिइबीका कारण आफूलाई निलम्बन गरेको बताएका छन् । निलम्बनबारे कोषाध्यक्ष यादवसँग प्रतिक्रिया लिँदा उनले भने, ‘यो केही होइन, डाक्टर साहब (सिके राउत)ले व्यक्तिगत रिसिइबी मसँग साध्नु भयो ।’ स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही भोग्नु परेको उनले दाबी गरे । स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरी समयमै उचित जवाफ दिने उनले बताए ।
विगत १६ वर्षदेखि संगठनमा लागेको र पार्टीलाई यहाँसम्म ल्याइ पु¥याएको दाबी गर्दै उनले अध्यक्ष राउतले लगाएका सम्पूर्ण आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको दाबी गरे । कोषाध्यक्ष यादवले भने, ‘यदि त्यस्तो थिएन भने आइतबारदेखि बस्ने बैठकसम्म किन कुर्नुभएन । मलाई बैठकमै स्पष्टीकरण लिँदा हुन्थ्यो, म त्यहीँ सबै कुराको जवाफ दिन्थे, तर बैठकबाट वञ्चित गर्नका लागि कारबाही गर्नुभएको हो,’ उनले अघि थप्दैँ भने, ‘तैपनि मैले यसको जवाफ चाँडै दिन्छु ।’
पार्टीमा तपाईको व्यक्तिगत लगानी कति हो त भनी जिज्ञासामा उनले अहिलेसम्म पाँच करोडभन्दा बढी रकम आफूले दिएको र सोको हिसाबकिताब माग्दा कारबाही भोग्नु परेको दुखेसो पोखे । कोषाध्यक्ष यादवले भने, ‘आइतबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा मैले यी सबै कुरा उठाउने भनेपछि त्यसको एक दिन अगावै मलाई कारबाही गरिएको हो ।’ उनले आरोप लगाए जस्तै अध्यक्ष राउतले पनि उनीमाथि हिसाबकिताब नदिएको आरोप लगाए । हिसाबकिताब दिनुको साटो उल्टै अध्यक्ष राउतले पनि कोषाध्यक्षकै भाषा दोहो¥याइ ढाकछोप गर्ने गरी उनी माथि नै खनिएका छन् ।
केन्द्रीय समितिको बैठक आइतबारदेखि बर्दिबासमा बस्ने छ । बैठक दुई दिनसम्म चल्ने जनाइएको छ ।