
पालिकाहरूबीच सीमा विवादमा घटना १ सय नाघेको छ । गएको आर्थिक वर्षमा ६२ वटा सीमा विवादका फाइल रहेकामा साउनपछि अहिलेसम्म ३९ वटा थपिएर १ सय १ वटा पुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै कर्णालीबाट २१ र सबैभन्दा कम मधेशबाट एउटा घटना आएको मन्त्रालयले जनाएको छ । सरकारले समयमा पालिकाको सीमा विवादलाई समाधान नगरेकाले सिमाना विवाद बढ्दै गएका छन् ।
सीमा विवादले एउटा पालिकाका सेवाग्राहीलाई सेवा लिन अर्को पालिका हुँदै जानुपर्ने मात्र नभई घरजग्गा, सम्पत्ति दर्ता र राजस्व तिर्नसमेत नपाउने अवस्था छ । सीमाको समस्याले गर्दा कतिपय वडा कार्यालयमा पुग्न ५० मिटर दूरीको बाटोलाई ५ घण्टा लगाएर जानुपर्ने अवस्था छ ।
पालिकाका जनप्रतिनिधिले सीमा विवाद मिलाउन पटक पटक मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएको छैन । सीमा विवाद बढ्दै गएका छन् ।
मन्त्रालयका सङ्घीय मामिला महाशाखाका प्रमुख एवम् सहसचिव प्रकाश दाहालले स्थानीय सरकार सञ्चालन ऐनको संशोधित मस्यौदामा पालिकाको सीमा विवादको व्यावहारिक खाका प्रस्ताव गरेको र ऐनको संशोधन मस्यौदा अहिले कानून मन्त्रालयमा अड्किएको बताउनुभयाे ।