
पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि आइतबार दिउँसो काठमाडौं फर्किएका छन् । उनी काठमाडौं फर्किने क्रममा हौसिएका राजावादीहरू सयौँको संख्यामा त्रिभुवन विमानस्थल क्षेत्रमा पुगेका थिए ।
उनी काठमाडौं आएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्र हुँदै उनलाई र्यालीसहित निर्मल निवासतिर लागेका छन् । पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएछि गाडीबाट उठेर समर्थकलाई नमस्कार गर्दै हात हल्लाए ।
उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित अब महाराजगञ्जतिर लागेका छन् । आजै नारायणहिटीमा भित्र्याउने घोषणा गरेका दुर्गा प्रसाईं पनि निर्मल निवासतिर लम्किएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पूर्वराजा शाहलाई स्वागत गर्न पुगेका थिए । कयौँ राजावादी नेताहरूले विमानस्थल पुगेर शाहको जयजयकार गरे ।
पोखराबाट पूर्वराजा आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थक र्यालीसहित निर्मल निवासतिर हिँडिसकेका छन् । गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्मको यात्रामा निस्केका हुन् ।