
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतको सम्बन्धको स्थान अरू कसैले लिन नसक्ने बताएका छन् । राजस्थानको एउटा कार्यक्रमको लागि निजी भ्रमणमा गएका अध्यक्ष यादवले त्यहाँ आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले भने, ‘मित्रतामा नेपालका लागि भारतको विकल्प अरू कुनै देश हुन सक्दैन, यो सम्बन्ध हामीले होइन, हाम्रो पुर्खाले बनाउनु भएको छ । यो सम्बन्धलाई हाम्रो पुर्खाले स्थापित गरेका हुन् ।’
अर्को छिमेकी देश चीनसँग पनि नेपालको राम्रो सम्बन्ध रहेको बताउँदै उनले भारतसँग भने नेपालको विशेष सम्बन्ध रहेको बताए । ‘नेपाल र भारतबिच रोटी बेटीको सम्बन्ध रहेको छ,’ उनले भने, ‘यताको परिवार उता बस्छ, उताको परिवार यता बस्छ । नेपाल–भारत बिचमा रहेको यो सम्बन्ध कसैले खोस्न सक्दैन ।’
जसपाका अध्यक्ष उपेन्द्र यादव फागुन १२ गते दुबईबाट फर्केका थिए । उनी दुबईबाट फर्केपछि एउटा कार्यक्रमका लागि पार्टीका उपाध्यक्ष राजकिशोर यादव फागुन १३ गते दिल्ली गएका थिए ।
साउथ एसिया फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष यादव दिल्ली गएका थिए । उपाध्यक्ष यादवले कार्यक्रमको क्रममा विभिन्न उच्च स्तरीय भेटघाट गरेर नेपाल फर्केका थिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले २० केन्द्रीय समितिको बैठक सकाएर २१ गते भारत पुगेका छन् ।