
जनमत पार्टीको केन्द्रीय समितिको बैठक आइतबारदेखि महोत्तरीको बर्दिवासमा शुरु भएको वैठकमा पाँच वटा एजेन्डामाथि छलफल जारी रहेको प्रवक्ता डा. शरदसिंह यादवले जनाएका छन् ।
सो केन्द्रीय समितिको बैठक सोमबारसम्म चल्ने जनाइएको छ । उनले संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरणलगायतका एजेन्डा रहेको बताए । सो बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल हुने प्रवक्ता यादवले जारी रहेको बताए ।
केन्द्रीय समितिको बैठक बस्नु अगावै पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवमाथि विभिन्न आरोप लगाउँदै निलम्बन गरेका छन् । कोषाध्यक्ष यादवलाई निलम्बन गर्नु अघि पार्टीले अनुशासन विभागका अध्यक्षसमेत रहेका पार्टीका उपाध्यक्ष ई. दिपक कुमार साहलाई समेत निलम्बन गरिएको थियो ।
तर निलम्बित उपाध्यक्ष ई. साह भने केन्द्रीय समितिको बैठकमा सहभागी हुन गए पनि एक नेताले कारबाही बारे स्मरण गराउँदा उनी रिसाएर बैठकस्थलबाट फर्किएका थिए । तर उपाध्यक्ष साहले भने कारबाही बारे आफूलाई कुनै जानकारी नरहेको अनभिज्ञता प्रकट गरे । केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप उनीमाथि लगाइएको छ ।
अनुमतिबिना गैरआवासीय मधेशी संघमा आवद्ध रहेका विदेशमा बस्दै आएका ६ जनाभन्दा बढी कार्यकर्तासंग रकम उठाएको उनीमाथि आरोप छ । सो बैठकमा कारबाहीमा परेको उपाध्यक्ष ई. साह र कोषाध्यक्ष यादवलगायत आठ जना पदाधिकारी बैठकमा सहभागी नभएको स्रोतले जनाएको छ ।