
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा आइतबार राती भएको आगलागिले चार घर जलेर खरानी भएको छ । स्थानीय नयनी यादवको घर नजिकै बालिएको परालको घुरबाट सल्केको आगो फैलिएर नयनी यादवको दुई घरका साथै छिमेकी गोकर्ण मुखिया र लखन मुखियाको घर पनि खरानी बनाएको हो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार आगलागिबाट ३३ लाख ७० हजार बराबरको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राती ९ बजेतिर सुरु भएको आगलागिमा ६ चौपाया समेत जलेर मरेका छन् । प्रहरीका अनुसार आगलागिमा नयनी यादवको टिनको छानो भएको २ घर, लत्ताकपडा, भाडाकुडा, खाद्यान्न र २ वटा बाख्रा र सुनचाँदीका गरगहना गरी ११ लाख ३३ हजार बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
छिमेकी गोकर्ण मुखियाको घरका साथै नगद २ लाख ३५ हजार, सुनचाँदीका गरगहना, लत्ताकपडा, भाडाकुडा र २ वटा बाख्रा जलेर नष्ट भई २० लाख ३५ हजार बराबरको समपत्ति जलेको छ ।
यस्तै लखन मुखियाको घर, लत्ताकपडा, भाडाकुडा, फर्निचर र २ वटा बाख्रा जलेर नष्ट भई २ लाख २ हजार मुल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रातीको समयका सबै सुतिरहेका बेला अचानक फैलिएको आगोले केही समयमै ठूलो क्षति पु¥याएको वडा अध्यक्ष रमेश मुखियाले बताए ।
आगलागिलाई नियन्त्रणमा लिन राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्रका साथै सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी जुटेका थिए । एक घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरी गाउँलेलाई थप क्षति हुनबाट जोगाइएको प्रहरी उपरिक्षक खतिवडाले जानकारी दिए ।
आगलागिमा घर जलेका पीडितहरु अहिले खुल्ला आकाशमुनी वास बसिरहेका छन् । आगलागि स्थलमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा लगायत विभिन्न निकायका प्रमुख, प्रतिनिधि पुगेर राहत व्यवस्थापनमा जुटेको तिलाठी कोइलाडी गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताए ।
अघिल्लो दिन मात्र सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मा वडा वडाअध्यक्ष शत्रुधन मण्डलको घरमा आगलागि भई ८ लाख ७० हजार बराबरको क्षति भएको थियो ।