
नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारको असन्तुष्टिका कारण राजावादी र हिन्दुवादीहरू सलबलाएको बताएका छन् ।
बैठकमा प्रतिगामीहरू सलबलाएकाले दलहरू तुरुन्त एक्सनमा जानुपर्ने निष्कर्ष निकालिएको छ ।
खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस–एमाले सरकारले जनतालाई डेलिभरी दिन नसक्दा समस्या आएको निष्कर्ष सुनाए ।
वर्तमान सरकारले कार्यशैली सुधार नगरेकाले प्रतिपक्षीले केही गृहकार्य गर्ने दिन आएको उनले बताए । प्रचण्डले भने, ‘साथीहरू वर्तमान सरकारले असन्तुष्टिले सडक तात्यो । अब हामी चुप बस्नुहुँदैन । लामो समय संघर्ष गरेर ल्याएको गणतन्त्रलाई हल्लाउने प्रयत्न भइरहेको छ ।’
उनले गणतन्त्रलाई जनताले रुचाएका बेला सरकारको असन्तुष्टि सडकमा देखिएको तर यो राजाको भेषमा आएकाले यो गम्भीर विषय भएको बताए ।
आज अपरान्ह ४ बजे समाजवादी मोर्चाको बैठक छ । यस्तै भोलि ४ बजे माओवादीले पदाधिकारी बैठक डाकेको छ ।
माओवादी राजावादीहरू सडकमा आन्दोलन गर्ने निर्णय गरेपछि तराई मधेस जागरण अभियान छाडेर आइतबार काठमाडौं फर्किएका छन् ।