
जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि आज एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा अधिकारीहरुको बैठक बसिरहेकै समयमा बाराको पचरौता नगरपालिकाका वृजकिशोर साह भन्ने व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।
शरीरमा प्रज्जवलनशील पदार्थ छर्किएर आगो लगाउने प्रयास गर्दा सशस्त्र प्रहरीले रोकेको छ । सशस्त्र प्रहरीले उनलाई तत्काल जिल्ला प्रशासन कार्यालयकै गाडीमा राखेर नारायणी अस्पतालमा लगिएको छ । उनको अवस्था सामान्य नै रहेको छ ।
त्यसअघि उनले विष पनि सेवन गरेको हल्ला भएको छ ।
पचरौता स्थायी ठेगाना भएपनि वीरगन्जको रानीघाटमा बस्दै आएका उनी मिटरब्याज पीडित भएको बताईएको छ । थप विवरण भने आउन बाँकी रहेको छ ।