
राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ ।
सोमवार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले यसबारे जानकारी गराएको हो । आयोगले सार्वजनिक निकायहरूमा सूचनाको हकको कार्यान्वयन अवस्थाको परीक्षणलाई थप प्रभावकारी तथा व्यवस्थित गर्नको लागि सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले आगामी २०८२ साल वैशाख २२ गते मनाइने राष्ट्रिय सूचना आयोग स्थापना दिवसको लागि विभिन्न तयारी समितिहरू गठन भई काम भइरहेको बताए । उनले आयोगले पछिल्लो तीन महिनाको अवधिमा राजनीतिक दलका नेता एवं सूचना अधिकारीहरू र उच्च अदालत पाटनका न्यायाधीशहरुसँगको संवाद काठमाडौँमा सम्पन्न गरेको जानकारी दिए ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघमार्फत हेटौँडामा राष्ट्रियस्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बताए । सूचना अभियन्ता र सूचना पाउन नसकेका व्यक्तिबाट आएका पुनरावेदनहरूको सुनुवाइ अन्तर्गत तीन महिनामा २० वटा इजलास बसी ४ सय ८३ सुनुवाइ भएको बताए । सार्वजनिक निकायहरूमा सूचना प्रवाह गर्ने प्रवृत्तिमा आम रूपमा समस्या रहेको बताए । उनले सूचना अभियन्ताहरू बढी बैंकिङ, कर कार्यालयहरूमा बढी केन्द्रित रहेको बताए ।
उनले पछिल्लो समय पुनरावेदन दर्ताको प्रक्रियाबारे उठेका जिज्ञासा समेतलाई सम्बोधन गर्दै पुनरावेदन प्रक्रियालाई सरल बनाउन पुनरावेदन कार्यविधिमा संशोधन प्रक्रिया थालिएको बताए ।