२०८१ फाल्गुन २७, मंगलवार ०७:२१

जनता समाजवादी पार्टी (जसपा) नेपालले असन्तुष्टहरुलाई फकाउन ‘चाल’ चलेको छ । पार्टीका असन्तुष्ट नेताहरुले साथ छाड्न सक्ने संकेत पाएका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने प्रक्रिया थालेको बताइन्छ । केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।

गत हप्ता सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड् काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्लाही जिल्लाका निवर्तमान सांसदसमेत रहेका युवा नेता प्रमोद कुमार साहले आफूलाई उपेक्षित महसुस गर्दै जसपा नेपाल छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विद्यार्थी राजनीतिबाट मधेश अधिकारका लागि लड्दै संसदसम्म पुगेका साहले पार्टी परित्या गर्दा जसपा नेपाललाई ठूलै झट्का लागेको बताइन्छ । पार्टीका अन्य असन्तुष्ट नेताहरु पलायन गर्ने जोखिमलाई न्यून गर्न अध्यक्ष यादवले पदाधिकारी कार्यकारिणी समिति बढाउने प्रचार गराएको कतिपय नेताको बुझाइ छ । तर प्रचार प्रमुख बस्नेतले जातीय, सामुदायिक तथा लैंगिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको दाबी गरेका छन् ।

संशोधित विधानअनुसार जसपा नेपालले थप दुई जना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने उनले बताए । संशोधित धारा २९ को उपधारा ३ अनुसार संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको उनले बताए ।

पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न केन्द्रीय समितिले सैद्धान्तिक सहमति प्रदान गरेको उल्लेख गर्दै महासचिव रामकुमार शर्माले भने, तर सबै प्रक्रिया पूरा गर्न निकै समय लाग्ने छ । महाधिवेशनले पारित गरेको विधानको धारालाई बाधा अड्काउ फुकाउने धारा टेकेर केन्द्रीय समितिले सैद्धान्तिक सहमति दिएकोले प्रक्रिया अगाडि बढाउन बाटो खुलेको शर्माले जनाए । ‘पार्टीमा पदाधिकारी थपघटको प्रक्रिया चलिरहने विषय हो’ उनले भने, आवश्यकता अनुसार त्यो फेरि थपघट हुन सक्छ ।

प्रदेश सांसदसमेत रहेका जसपा नेपालका प्रवक्ता मनिष सुमनले केन्द्रीय समितिको २ सय ४३ उम्मेदवार हुन पाउने र उनीहरु नै मतदाता रहेकाले पूर्ण लोकतान्त्रिक प्रक्रियाबाट ११ जनाको चयन गरिने बताए । विधानमा नै केन्द्रीय सदस्यहरु मध्येबाट उल्लेख रहेकाले थप हुने कार्यकारिणी सदस्यहरुमा को को थपिने भन्ने यकिन गर्न नसकिने सुमनले बताए । तर पदाधिकारीहरुको चयन भने सहमतिबाट नै हुने उनको कथन छ । उच्च स्रोतहरुका अनुसार पार्टीको उपाध्यक्षद्वयमा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव र महोत्तरीका नेता पूर्वमन्त्री हरिनारायण यादव मनोनित हुने निश्चित छ ।

त्यसैगरि महासचिवमा प्रकाश अधिकारी मनोनयन हुने बलियो सम्भावना छ । थपिने पदाधिकारीहरुसँगै उपाध्यक्षको संख्या ७ र महासचिवको संख्या तीन पुग्ने छ । राजकिशोर यादव, मृगेन्द्र सिंह यादव, गोविन्द चौधरी , शिवलाल थापामगर र विद्युत बज्राचार्य छन् । महासचिवमा राम कुमार शर्मा र पूर्वमुख्यमन्त्री लालबाबु राउत रहेका छन् ।

महाधिवेशनमा उम्मेदवारी दिए पनि अध्यक्ष यादवले मतदानलाई रोकेर पदाधिकारी मनोनित गर्दा अधिकांश नेताहरु छुटेका थिए । त्यसपछि पार्टीमा देखिएको तीव्र असन्तुष्टिलाई समान्य गर्न अध्यक्ष यादवले पदाधिकारी बनाउने आश्वासन दिएका थिए । गत जेठ महिनाको अन्तिम हप्तामा सम्पन्न एकताको प्रथम राष्ट्रिय महाधिवेशनलाई निर्वाचन आयोगले हालसम्म मान्यता दिएको छैन ।

महाधिवेशनबाट चयन भएका पदाधिकारी र केन्द्रीय समितिको नाम समावेश गरी निर्वाचन आयोगले अध्यावधिक गर्न अझै बाँकी नै छ । पार्टी विभाजन विरुद्ध जसपा नेपालका अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । सर्वोच्च अदालतको फैसलापछि पार्टीको अवस्था कस्तो हुने त्यो प्रतीक्षाको विषय हो ।

सरकारद्वारा सदनमा हालै पेश भएको ६ वटा विधेयक मध्ये भूमिसम्बन्धी विधेयकविरुद्ध अडान लिएर स्थगन गराउन जसपा नेपाल सफल भएपछि राजनीतिक उचाइ बढेको छ । जसपा नेपालले संघीय सरकारलाई बाहिरबाट समर्थनग गरिरहेको छ । प्रदेश र संघीय सरकारमा लामो समयदेखि जसपा नेपाल छैन ।

माओवादीले तराई–मधेश जागरण अभियान अन्तर्गत जसपा नेपाललाई धक्का दिएको छ । त्यसको कारण पार्टी भित्रको असन्तुष्टि रहेको बताइन्छ । पदाधिकारी थप गर्न विधान संशोधन गरिए पनि त्यसको कार्यान्वयन चाँडै हुने सम्भावना भने नरहेको कतिपय पदाधिकारी र केन्द्रीय सदस्यहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News