
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता आयो’ भन्ने अभिव्यक्ति दिएपछि जसपा नेपालका नेताहरू आक्रोश पोखेका छन् ।
देउवाको सो अभिव्यक्तिपछि जसपा नेपालका महासचिव रामकुमार शर्माले पूर्वराजा र ओली/देउवा गठबन्धनबीच भित्रीरुपमा एकता गरेको आरोप लगाएका छन् ।
देउवाको अभिव्यक्तिको समाचार सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘संघीयता र समानुपातिक समाप्त गर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाह र ओली/देउवा गठबन्धनबीच भित्रीरुपमा एकता देखियो ! संघीयता र समानुपातिक पक्षधर शक्तिहरूले ढिला नगरी इँटको जवाफ पत्थरले फर्काउने दिशामा तत्काल अगाडि बढ्नुपर्छ ।’
यस्तै जसपा नेपालका सचिव सुरेश मण्डलले पनि देउवामाथि आक्रोश पोखेका हुन् । उनले बहुसंख्यक मधेशी, जनजाति र दलितको अधिकार प्राप्तिको माध्यम समानुपातिक समावेशिता विरुद्ध बोलेको भन्दै देउवाको बुद्धि घुटनामा रहेको टिप्पणी गरेका छन् ।
देउवालाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्:
हेर्नुस् यसको बुद्धि घुटनामा छ । यिनले र यिनका बुढी आरजुले गरेको असीमित भ्रष्टाचारले देश डुबेको हो, स्वीकार गर्दैन । नेपालीलाई शरणार्थी बनाएर बेच्ने यस्तै कुपात्रहरूका कारण आज देश र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठिरहेका छन् । यो देशको बहुसङ्ख्यक मधेशी, जनजाति र दलितको अधिकार प्राप्तिको माध्यम समानुपातिक समावेशिता विरुद्ध बोल्छ । यी बहुसङ्ख्यक समुदाय जो दुई तिहाई भन्दा बढी छ, जसलाई अधिकार सम्पन्न हेर्न सकिरहेको छैन ।