
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा मंगलबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा वर्तमान सरकारको अक्षमताका कारण देशका हरेक तप्का र समुदाय आन्दोलनको मोडमा पुगेको पनि बताए ।
दाहालले फागुन २५ भएको राजावादीको आन्दोलनमा विदेशी शक्तिको चलखेलसमेत रहेको बताएका छन् । ‘राजावादी यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ’, उनले भने, ‘देशभित्रबाट मात्रै होइन, विदेशी शक्तिले पनि राजावादीलाई उकास्न चलखेल गरेका छन् ।’
उनले विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको पनि बताए । नेपालमा लोकतन्त्रले राजावादीलाई बोल्ने हक दिएको बताउँदै तर धेरै चलखेल नगर्न पनि चेतावनी दिए ।