
पाकिस्तानमा ४ सय ५० जना चढेको रेल अपहरण भएको छ । बलुच लिबरेसन आर्मी (बीएलए)ले गाेलाबारी गरी रेल अपहरण गरेको हो ।बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
क्वेटाबाट पेसावर जाँदै गरेको जाफर एक्सप्रेसमा भारी गोलीबारी भएको रिपोर्ट आएको उनले बताए । आक्रमणमा रेलचालक घाइते भएको बताइएको छ । क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले त्यस क्षेत्रमा नेटवर्क समस्या भएकाले रेलचालक दलका कुनै पनि सदस्यसँग सम्पर्क हुन नसकेको बताएका छन् ।
उनले आक्रमण भएको रेलमा ४ सयभन्दा बढी यात्रु रहेकाे बताए । एक सरकारी प्रवक्ताले स्थानीय अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएका छन् ।
क्वेटास्थित रेलवे नियन्त्रण केन्द्रका वरिष्ठ अधिकारी मुहम्मद शरीफले हतियारधारी व्यक्तिहरूले आक्रमण गरेपछि रेल रोकिएको बताए । उनले भने, ‘अहिलेसम्म प्राप्त जानकारीअनुसार आक्रमणमा रेलचालक घाइते भएका छन् ।’
बीएलएले आफूहरूमाथि सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको प्राप्त समाचारमा उल्लेख छ ।