
जनकपुरधामस्थित रामस्वस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा निर्वाचन समिति र विद्यार्थी संगठनबीचको विवादले निर्वाचन प्रक्रिया अन्तर्गतको उम्मेदवार मनोनयन दर्ता प्रभावित भइ अनिश्चित बनेको छ ।
निर्वाचन समिति र विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा स्ववियु निर्वाचनका लागि हुनुपर्ने तय गरिएको उम्मेदवार मनोनयन दर्ता प्रक्रिया राराब क्याम्पसमा हुन सकेन । स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठन र निर्वाचन समितिबीचको बैठक एक साता अघि नै निष्कर्षविहीन भएको थियो ।
सो बैठकमा विद्यार्थीको डिजिटल परिचयपत्र उपलब्ध गराउनुपर्ने, फर्जी परिचयपत्र रद्द गर्नुपर्ने, निर्वाचनमा धाँधलीरहित हुनु पर्ने, फर्जी विद्यार्थीले मतदान गर्ने सम्भावना रहेकाले तत्काल फर्जी परिचयपत्र रद्दसहित व्यवस्थित, सुरक्षित रुपमा निर्वाचन हुनुपर्नेलगायतका बारेमा विद्यार्थी संगठनले माग गरेको थियो ।
तर निर्वाचन समितिले विद्यार्थी संगठनको मागलाई अस्वीकार गर्दै निर्वाचनको समयमा डिजिटल परिचयपत्र कार्डको व्यवस्था गर्न सम्भव नभएको जिकिर गरे पछि निर्वाचन प्रक्रिया नै प्रभावित हुन पुगेको छ । यस कारणले विद्यार्थी संगठनले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्नका लागि सो व्यवस्थापनको पुनरावलोकन गर्नुपर्ने माग यथावत नै रहेको अखिल क्रान्तिकारीका नेता राजु प्रतिहस्तले बताए ।
निर्वाचन समितिका सदस्य सचिव गुल्जार राउतले जनाए अनुसार निर्वाचन अधिकृतले सबै विद्यार्थी संगठनलाई समन्वयका लागि बोलाएर छलफल गरिए पनि निष्कर्षविहीन भएको थियो । समाजवादी विद्यार्थी युनियन नेपालका राराब इकाइ अध्यक्ष गौतम यादवले भने, ‘हाम्रो माग पूरा नभएसम्म हामी चुनावमा भाग नलिने छैनौंँ ।
केही विद्यार्थी संगठन र विद्यार्थीको इच्छा पूरा गर्न क्याम्पसको भविष्यलाई दाउमा लगाउने काम हामी गर्न सक्दैनौँ ।’ राराब क्याम्पसमा अखिल क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन नेपाल, नेपाल विद्यार्थी संघ, जनमत विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी मञ्चलगायतका विभिन्न विद्यार्थी संगठनहरु मिलेर डिजिटल परिचयपत्र लागु गर्नुपर्ने, फर्जी परिचयपत्र रद्द गर्नुपर्ने, निर्वाचन भयरहित, सुरक्षित रुपमा सम्पन्न हुनुपर्ने भन्दै आन्दोलित छन् ।