२०८१ फाल्गुन २९, बिहीबार ०५:५९

भारतको बिहार राज्यको सीतामढी जिल्लामा माता सीताको भव्य मन्दिर निर्माण हुने भएको छ । भारत सरकारका गृहमन्त्री अमित शाहले गाँधीनगरमा मंगलबार आयोजित मिथिलाञ्चलवासीको एक कार्यक्रममा अयोध्याको राममन्दिर निर्माण पूरा भएसँगै सीतामाताको सीतामढीमा चाँडै भव्य मन्दिर निर्माण हुने प्रतिवद्धता जनाएका छन् ।

भारत बिहार राज्यको सीतामढी जिल्ला प्राचिन मिथिला राज्यको भूभाग हो । सीतामढीका स्थानीय बासिन्दा र विद्वानहरुले माता सीताको जन्मस्थली सीतामढीको पुनौरा रहेको दाबी गर्दै आएका छन् । यद्यपि रामायणमा पुनौराको उल्लेख छैन । सीतामढीको पुनौरामा अवस्थित जानकी मन्दिरलाई माता जानकीको जन्मस्थलीको रुपमा लेखिएको छ । उनीहरुका अनुसार राजा जनकले पुनौरामा नै हलो चलाउँदा धरतीबाट जानकी माता अवतरित भएको तर्क गर्छन् ।

पुनौराधामलाई पर्यटकीय स्थल बनाउन बिहार सरकारले सन् २०२४ मा मन्त्रिपरिषद्को बैठकबाट थप ५० एकड जमिन अधिग्रहण गर्ने निर्णय गरिसकेको छ । भारत सरकारको बजेटमा सीतामढीको विकासका लागि ५ सय करोड रुपैयाँ बिनियोजन गरिएको छ । सीतामढी बजारभन्दा झण्डै पाँच किलोमिटर टाढा रहेको पुनौरा गाउँमा जानकी माताको मन्दिर अवस्थित छ । त्यो मन्दिरलाई जानकीको जन्मस्थली मानिएको छ । मिथिलामा अनिकाल परेको बेला राजा जनकले हलेश्वरी यज्ञ गरेका थिए । त्यस क्रममा उनले पुनौरामा हलो चलाउँदा निस्केको गाग्रीमा माता सीता शिशु अवस्थामा रहेकी थिइन् ।

राजा जनकले हलो चलाउनु अघि भगवान शिवको पूजा गरेको स्थल हलेश्वरनाथ महादेव त्यहाँ रहेको दाबी गरिएको छ । सीता झुला झूल्ने पिपलको बोट अझै विद्यमान रहेको स्थानीयको दाबी छ । भारत सरकारमा प्रधानमन्त्री पछिको अत्यन्त शक्तिशाली गृहमन्त्री अमित शाहले मिथिलाञ्चलवासीहरुको भेलामा उनले भने, ‘अयोध्यामा राममन्दिर बनिसक्यो, अब पालो माता सीताको भव्य मन्दिर बनाउने हो ।’ ‘आज म मिथिलाञ्चलवासीको कार्यक्रममा घोषणा गरेर जाँदैछ’’ उनले भने, आउने दिनमा एउटा भव्य मन्त्री जसले दुनियाभरको मातृशक्तिको सन्देश दिनेछ कि जीवन कस्तो हुनुपर्छ ? जीवन हरेक किसिमले आदर्श हुनुपर्ने सन्देश दिन कार्य माता जानकीको मन्दिरले गर्ने छ ।’ उनले भने, जानकी मन्दिर चाँडै हामी बनाउने छौँ । गृहमन्त्री शाहको भाषण लगतै भारत सरकारमा बिहारबाट मन्त्री रहेका युवा नेता चिराग पासमानले सीतामढीमा जानकी माताको मन्दिर निर्माणले बिहारका १४ करोडवासी लाभान्वित हुने बताएका छन् । उनले गृहमन्त्री अमित शाहको वचन चाँडै पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

सन् २०२५ मा बिहारमा विधान सभाको निर्वाचन हुने छ । त्यसलाई प्रभावित गर्न जानकी मन्दिर निर्माणको कार्ड खेलिएको विपक्षीहरुले आरोप लगाएका छन् । विपक्षका नेताहरुले भारतीय जनता पार्टी(भाजपा)ले अस्पताल, विश्वविद्यालय खोल्ने कार्य नगरी धर्मको नाममा मत लिन अनेक झुठा आश्वासन बाड्ने गरेको आरोप विपक्षी नेताहरुको छ । सीतामढी भारत सरकारको रामायण सर्किट अन्तर्गत पर्यटकीय विकास क्षेत्रमा परेकाले भारत सरकारबाट प्रयाप्त बजेट विनियोजन भइरहेको छ ।

रामायण सर्किटमा राजा जनकको राजधानी जानकी महल(जानकी मन्दिर) रहेको जनकपुरधाम र धनुषाधाम समेत रहेको छ । भारतीय भूभागमा रामायणकालीन स्थलहरुको विकासका लागि प्रचुर बजेट राखिएको छ । पछिल्लो पटक महाकुम्भको सफल आयोजन र त्यसबाट जोडिएको सनातन धर्मावलम्बीहरुको भावना दृष्टिगत गरी भारत सरकारले व्यवसायीकरण गर्न लागेको छ । सीतामढीको पर्यटकीय विकासले जनकपुरधामस्थित जानकी महल(जानकी मन्दिर)को समेत आकर्षण बढने बताइन्छ ।

रामायण सर्किटमा जोडिएको जनकपुरधाम र धनुषाधामको प्रचार भारतभरि भइरहेको पुनौराधाम मन्दिरका महन्थ कौशल किशोर दासले बताए । ‘राजा जनकको दरबार, जानकी महललगायत सीता जन्मसित सम्वद्ध धेरै स्थलहरु नेपालको भूभागमा रहेका छन्’ उनले भने, सीता जन्म र विवाहसित जोडिएका स्थलहरुको विकास हुन आवश्यक छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणको क्रममा एक सय करोड भारतीय रुपैयाँ धार्मिक, सांस्कृतिक विकासका लागि प्रदान गरेको स्मरण गर्दै उनले भने, त्यसबाट ठूलै विकास भएको होला ?

Comment


Related News

Latest News

Trending News