
सिरहाको औरही गाउँपालिका ५ मा क्याम्पस बनाउने विष्णु महायज्ञ आयोजना गरिदैछ । महायज्ञका लागि अहिलेसम्म १५ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । तर उक्त रकम गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका औरही गाउँपालिका कार्य समितिका अध्यक्ष दिलिप यादवले गोजीमै राखेको रहस्य खुलेको छ ।
क्याम्पस बनाउने भन्दै महायज्ञको नाममा गाउँपालिका अध्यक्ष शिवजी र जनमतका नेता दिलिपले चन्दा उठाउने गरेका छन् । महायज्ञका लागि समिति बनेको छ । तर चन्दा संलगन कार्यमा उनी दुईजना कसैलाई राख्ने गरेको छैन । चन्दा उठेको जानकारी जनमतका नेता दिलिपले आफ्नो फेसबुकमार्फत जानकारी गराउँछन् ।
चन्दा संकलित रकम जम्मा गर्नका लागि एनएमबी बैंक औरही शाखामा बचत खाता खोलिएको छ । खाता नम्बर ११२०१४६२७३९०००२० रहेको छ । खाता सञ्चालकमा पनि पालिका अध्यक्ष र जनमतका नेता दिलिप मात्रै छन् । अहिलेसम्म करिब १५ लाख चन्दा संकलन भएको गाउँपालिका अध्यक्ष शिवजीले स्वंम स्वीकारे । तर अचम्म के भने खातामा अहिलेसम्म एक रुपैयाँ पनि राखिएको छैन । एनएमबी बैंक औरही शाखाका म्यानेजर रविन्द्र यादवले यसको पुष्टि गरे ।
सामुहिक कामका लागि संस्थागत खाता किन खोल्नुभएन भन्ने जिज्ञासामा गापा अध्यक्ष शिवजीले भने, ‘खाता खोल्न संस्था दर्ता गर्नुपर्छ । दर्ता गर्न निकै समय लाग्छ । त्यसकारण निजी खाता खोलेर रकम जम्मा गरेका हौं ।’ गपा अध्यक्षको भनाइमा आपत्ती जनाउँदै एक स्थानीय यूवाले भने, ‘ गाउँपालिकाकै सिफारिसमा क्याम्पस निर्माण उपभोक्ता समिति बनाएर समितिको नाममा विधिवत खाता सञ्चालन हुन सक्थ्यो । खाता सञ्चालकमा अध्यक्ष स्वयं बसेपनि खाता संस्थागत हुन्थ्यो ।
निजी खातामा जम्मा गरेको रकमको के भरोसा ? भोलिका दिनमा दिन्नौ, यो त हाम्रो निजी हो भनिदिए भने कानूनले पक्रने ठाउँ नै रहदैन । २० लाख जम्मा हुँदा १० लाख मात्र भयो भन्न सक्छन् । अर्काको निजी खाताको बैंक स्टेटमेन्ट देखाउ पनि भन्न मिलेन नी ।’ संस्थागत रकम निजी खातामा राख्नुमा बदनियत भएको उनले आशंका गरे ।
यस प्रसङ्गमा सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसंग प्रश्न गर्दा उनले भने, ‘कति तिर हेर्नु ? यस्ता कुरा पनि हामीले नै हेर्नु पर्ने ? खाता खोल्दा पालिकाको सिफारिसमा संस्थागत खाता खोलेको भए राम्रो हुन्थ्यो । तर म बुझेर भन्छु । के भएको रहेछ ।’ सामुहिक कार्यको रकम नीजि खाता खोलिएकोबारे अधिवक्ता प्रशान्त साह भन्छन्, ‘पालिकाले चन्दा उठाएको रकम निजी खातामा राख्नु गैरकानूनी हो । हरहालतमा सार्वजनिक रकम संस्थागत खातामा हुनुपर्छ । संस्थागत खाता छ भने मात्र सरकारी निकायको पहुँचमा हुन्छ ।’
कति रकम दान उठ्यो ? भन्ने प्रश्नमा गापा अध्यक्ष शिवजीले नगद थोरै उठेको बताए । उनले भने, ‘अहिले उठेको रकम व्यवस्थापन मै खर्च भएको छ । पछि दिन्छौ भनेर उधारो दान गर्नेहरुले वचन दिएको रकम १५ लाख जति भएको छ । उठ्यो भने खातामा राख्छौं ।’
क्याम्पसको नाममा रकम उठाइदैछ । तर दर्ता भएको छैन । क्याम्पस खोल्ने विधिवत स्वीकृति लिइएको छैन । क्याम्पसका लागि जग्गाको प्रवन्ध समेत भएको छैन । औरहीस्थित श्री सुजमाविमा क्याम्पस सञ्चालन गर्ने गापा अध्यक्ष शिवजीले बताए ।