
पाकिस्तानी सेनाले तीन सयजनालाई उद्धार गरेको छ । बलुचिस्तान प्रान्तमा यात्रुवाहक रेलमा भएको आतंकवादी आक्रमणपछि बन्धक बनाइएका तीन सयजनालाई उद्धार गरेको पाकिस्तानी सेनाले बताएको छ ।
अधिकारीहरूले रेलमा सवारमध्ये सय सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । सैनिक प्रवक्ताले सैन्य कारबाहीमा ३३ जना अतिवादी मारिएको बताएका छन् ।
उनका अनुसार सैन्य कारबाही सुरु हुनुभन्दा पहिले बलुचिस्तान लिबरेशन आर्मीले २१ सर्वसाधारण र चार सैनिकलाई गोली हानी मारेको थियो ।
सेनाले अझै पनि उक्त क्षेत्रमा खोजी अभियान चलाइरहको छ । स्थानीय रिपोर्टहरूले बताएअनुसार यदि अधिकारीहरूले ४८ घण्टाभित्र बलुच राजनीतिक बन्दीहरूलाई रिहा नगरेमा अतिवादीहरूले बन्धकहरूलाई मार्ने धम्की दिएका थिए ।
मंगलबार क्वेटाबाट पेशावर जाँदै गरेको नौ कोच भएको यात्रुवाहक रेल जाफर एक्सप्रेसमा आक्रमण हुँदा चार सयभन्दा बढी यात्रु सवार थिए । बीबीसी