२०८१ चैत्र १, शुक्रबार ०५:३४

सबैभन्दा लामो धार्मिक पदयात्रा १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू शुक्रबार जनकपुरधामको अन्तःगृह परिक्रमा गरेसंगै समापन हुनेछ । सहभागीहरूले शुक्रबार बिहान जनकपुरधामको अन्तः गृह परिक्रमा गरेपछि मिथिला माध्यमिकी परिक्रमा औपचारिक रूपमा समापन हुनेछ ।

परिक्रमाको समापनको अर्को दिन अर्थात् शनिबार जनकपुरधाम क्षेत्रमा होली खेल्ने परम्परा छ । भारतको कल्याणेश्वर स्थानमा रेखा खिचेर संकल्प लिँदै औपचारिक रूपमा १५ दिनसम्म १५ ऐतिहासिक एवं धार्मिक स्थानको परिक्रमा गरेका मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरूले बिहीबार कल्याणेश्वर स्थानमा आफूले खिचेको रेखा मेटाउँदै शुक्रबार जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाम आइपुगेका परिक्रमाका सहभागीले जनकपुरधामको रङभूमि मैदान बाह«बिघा, तिरहुतिया गाछी, रामजानकी मन्दिरको प्रांगणसहितको स्थानमा बास लिएका छन् । सहभागीहरूले जनकपुरधामको गंगासागर, धनुष सागर, अंगराजसर सागरसहितको पोखरीमा स्नानगरी जनकपुरधामको जानकी मन्दिरसहित विभिन्न मठमन्दिरमा पूजाअर्चना गरेका छन् ।

फागुन कृष्णपक्षको औँसी तिथिमा धनुषाको मिथिला बिहारी नगरपालिका– ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निस्किएको भगवान श्रीरामको डोला र जनकपुरधाम वडा– ८ स्थित सुन्दर सदनबाट निस्किएको माता सीताको डोला फागु पूर्णिमाका दिन जनकपुरधाम आइपुगेको छ ।

सबैभन्दा लामो धार्मिक पदयात्राको क्रममा सहभागीहरूले नेपालको ११ र भारतको ४ विश्रामस्थलमा विश्राम लिएर नेपाल ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टा तय गर्दै जनकपुरधाम आइपुगेको छ । परिक्रमामा साधु सन्तसहित हजारौँ श्रद्धालुहरुको सहभागिता रहेको छ । परिक्रमाको सहभागीलाई जनकपुरधामको विभिन्न स्थानमा स्वागत गरिएको छ ।

त्यसैगरी परिक्रमाको सहभागी श्रद्धालु भक्तजनका लागि जनकपुरधामको विभिन्न स्थानमा संघ संस्थाहरूले निःशुल्क भोजन र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । परिक्रमावासीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना प्रकाशन गरी परिक्रमा समापन नहुञ्जेलसम्म जनकपुरधामको परिक्रमा क्षेत्रमा मास मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

विगत वर्षको तुलनामा सहभागिता घटेको बताइ्रन्छ ।परिक्रमा प्रारम्भ हुनु हप्ता दिन अगाडी मात्र कुम्भ मेला सम्पन्न भएकाले त्यसको प्रभाव परिक्रमामा परेको बताइएको छ । परिक्रमामा सहभागिता जनाउनेहरु मध्ये अधिकांश भक्तजनहरु कुम्भ स्नानको क्रममा हप्ता दिन बढी भारतमा बिताएर फर्केका थिए । त्यसकारण उनीहरु परिक्रमामा सहभागि नभएको बताइन्छ ।

परिक्रमाको नेतृत्व गर्ने मिथिला बिहारीको डोला बिहान गंगासागरबाट अन्तः गृह परिक्रमाका लागि प्रस्थान गर्नेछ । तर परिक्रमाका सहभागीहरु मध्यरातिदेखि नै परिक्रमा गरी घर फर्किन थालेका छन् । डोलाभन्दा अगावै परिक्रमाका सहभागीहरु अन्तःगृह परिक्रमा गरी घर फर्किने गरेकाले रातभरि नै परिक्रमा सडकमा सीतारामको जयघोष भइरहन्छ ।

अन्तःगृह परिक्रमा नाँगो खुट्टाले गर्ने भएकाले सडक समतल नहुँदा सहभागिहरुलाई सास्ती हुने गरेको छ । अन्तःगृह परिक्रमा ९ किलोमिटर लामो रहेको छ । परिक्रमा सडकको दुवै तर्फ र कतिपय चोकको बीच भागमा समेत मगन्तेहरु बस्ने गरेकाले सडकमा भीड हुने गरेको छ । परिक्रमा सडकलाई व्यवस्थित गर्न पटक पटक माग उठेपनि त्यसलाई व्यवस्थित गरिएको छैन ।

Comment


Related News

Latest News

Trending News