
सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेको सिरहा प्रहरीले जनाएको छ । उनीहरूलाई २५ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्तासमेत रहेका डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
बलात्कारको घटनापछि पञ्चायती गर्ने काममा उनीहरूको पनि भूमिका देखिएको उनले बताए । उनीहरूसँगै यस घटनामा अहिलेसम्ममा पक्राउ पर्नेको संख्या १० पुगेको उनले बताए । यसअघि बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास पक्राउ परेका थिए ।
यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा नाम किटान नगरिएको भएपनि पञ्चायतीमा भूमिका खेल्ने व्यक्ति रहेको जनाइएको छ । गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन जना युवकबाट सामूहिक बलात्कार भएको थियो । उनी त्यसको अर्कोदिन बिहानमात्रै रुँदै घर पुगेकी थिइन् । तर माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
सो पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीकाबीच माघ ३० गते साँझ पीडित रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।