
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाली कांग्रेस पर्सा नेतृत्व नै विभाजित भएपछि ठाकुरराम क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई खेमा मैदानमा उत्रेका छन् । ठाकुरराम क्याम्पसको स्ववियु चुनावमा नेविसंघको विवाद चुलिदै गएपछि नेपाली कांग्रेस पर्साका नेताहरु दुई खेमामा देखिएका छन् ।
नेविसंघको विवाद चुलिदै गएपछि ठाकुरराम क्याम्पसको चुनावमा दुई गुट बनाएर उम्मेदवारी दिएको जय समूहलाई कांग्रेसका नेताहरु पनि विभाजित भएर समर्थन गरेका छन् । स्ववियु सभापतिमा उम्मेदवारी दिएका नेविसंघका राजु गुप्ताको समूहलाई कांग्रेस नेता राजेन्द्र बहादुर अमात्यसहित सस्थापनपक्षका दिग्गज कांगे्रसी नेताहरुले समर्थन गरेका छन् ।
कांग्रेस पर्साका पूर्वसभापति समेत रहेका अमात्य, नेविसंघका केन्द्रीय सदस्य शम्भु चौहान,विजय कर्ण,कांग्रेस महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ,उपसभापति सन्तोष गुप्ता,पूर्व स्ववियु सभापति मनोज यादव,पूर्व स्ववियु उपसभापति सन्तोष सिंह,कांग्रेस युवा नेता रोशन लामिछाने ,नेविसंघका निवर्तमान इकाइ सभापति मनोज साहलगायतका नेताहरुले गुप्ता समूहको प्रचार गरिरहेका छन् ।
नेता अमात्यले सभापतिका उम्मेदवार गुप्तासहित उनका टिमका उम्मेदवारहरुलाई आफ्नै निवासमा बोलाएर स्ववियु निर्वाचनमा जितका लागि शुभकामना दिनुका साथै सामाजिक संजालको माध्यमबाट खुलेरै भोट मांगेका छन् । चैत ५ गते स्ववियु चुनावको मतदान हुनेछ । ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलबार मनोनयनदर्ता पहिले अमात्य निवासमा पुगेका गुप्ता सहितका विद्यार्थी नेताहरुलाई टीकालगाएर जितको अग्रिम शुभकामना दिएपछि नेका पर्साका सभापति खुलेरै अर्को खेमालाई पार्टीको आधिकारिक उम्मेदवार घोषणा गरेको छ ।
विकास मण्डल धानुक समूहलाई नेका सभापति जनार्दन सिंह क्षेत्री खेमाले नेविसंघको आधिकारिक उम्मेदवार घोषणा गरेको छ । कांग्रेस पर्साका सहसचिव नविन सिंहलगायत नेपाली कांग्रेस पर्साका नेताहरु धानुक समूहको प्रचारमा लागेका छन् । ठाकुरराम क्याम्पसमा स्ववियुमा ४० बर्ष देखि नेविवसंघको वर्चस्व रहँदै आएको छ ।
जति गुट उपगुट भए पनि नेविसंघका आधिकारिक वा बागी उम्मेदवार विजयी हुने गरेका छन् । नेविसंघका विद्यार्थी नेताहरु सदैव विद्यार्थीका हकहितका लागि क्याम्पस प्रशासनसंग लड्दै आएको, विद्यार्थीका हरेक सुखदुखमा साथ दिदैं आएका कारण अहिले एकपक्षीय लहर नेविसंघको पक्षमा देखिएको नेका सहसचिव नविन सिंहले दाबी गरेका छन् ।
स्ववियु निर्वाचनका लागि वीरगञ्जको ठाकुरराम क्याम्पसमा एक सभापति पदका लागि मात्रै १४ जनाको उम्मेदवारी परेको छ । क्याम्पसमा १६ बर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । ठाकुरराम क्याम्पसमा यसपालिको स्ववियु निर्वाचन अन्तर्गत सभापति पदका लागि विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संघसंगठन र विभिन्न समूहका तर्फबाट गरी १४ जनाको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत दिलीप सिंहले बताएका छन् ।
प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष तथा ८ जना सदस्य तथा समानुपातिकतर्फ उपसभापति, सहसचिव र ८ सदस्य गरी २१ पदका लागि दलगत र विभिन्न समूह गरी १४ वटा समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएको सिंहले बताए । सभापतिपदमा नेविसंघका विकास कुमार मण्डल धानुक, अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) का अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलीले उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति पदका लागि जय नेपाल विद्यार्थी संघबाट राजु गुप्ता, स्वतन्त्र विद्यार्थी युनियनबाट दिलिप राज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, स्वतन्त्र युवा समूहबाट श्याम प्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समूहबाट धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी संघबाट सुधांशु चौरसिया, भोट फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादव ,सुधिर पटेल समूहबाट कमलेश यादव र राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट दिपेश कुमार साहले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको भातृ संगठन नेविसंघबाट आधिकारीक एक र विद्रोही गरी ६ वटा समूहले सभापतिसहितका पदमा प्यानल बनाएर उम्मेदवारी दिएका छन् । प्रत्यक्ष र समानुपातिक गरी २१ पदका लागि कुल २ सय ४७ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत सिंहले जनाएका छन् । ठाकुरराम क्याम्पसमा १० हजार ५ सय बढी मतदाता रहेका छन ।