
मकवानपुर जिल्लाको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेर चार जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार, कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा भारतीय नम्बर प्लेट (युपी ७० एनटी ६९१७) भएको फोर्स गाडी दुर्घटना भएको हो । उक्त गाडी काठमाडौंबाट हेटौंडातर्फ जाँदै थियो ।
गाडीमा १७ जना सवार थिए, जसमध्ये चार जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। प्रहरीका अनुसार, घाइते सबै भारतीय नागरिक हुन् र उनीहरूको अवस्था सामान्य छ ।
घाइते हुनेहरूमा भारत उत्तर प्रदेश, रायबरेली जिल्लाका बासिन्दा ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र, र ३८ वर्षीय अभयप्रताप सिंह रहेका छन् । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।