२०८१ चैत्र ५, मंगलवार ०६:३४

जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको चापमा वृद्धि भएको छ ।

अस्पतालले एनसिटी उपकरणको जडान गरेपछि आँखाको प्रेसर मापनको प्रक्रिया सहज र सुरक्षित भएपछि कार्य सम्पादनले तीव्रता पाएको छ । यसले अस्पतालको कार्यक्षमता र बिरामीको उपचारमा गुणस्तर सुधार ल्याएको छ । जसका कारण अस्पतालको दैनिक कार्यभार र बिरामीको चापमा वृद्धि भएको छ ।

जानकी आँखा अस्पतालका प्रशासकीय अधिकृत दीपेन्द्रकुमार सिंहले जनाए अनुसार अस्पतालमा तापमान बढ्दै गएकाले बिरामीहरूको चापमा पनि वृद्धि भएको छ । विशेषतः गर्मी बढेका कारण दैनिक ६ सय देखि ७ सय बिरामी आउने गरेका छन् । तराईका विभिन्न जिल्लाबाट बिरामीहरूको संख्यामा वृद्धि हुँदै गएको छ ।

यहाँ धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका नेपाली बिरामीहरू साथै भारतका सितामढी र मधुबनी जिल्लाका बिरामीहरू आउने गरेका छन् । पहिले आँखाको प्रेसर मापन गर्न पुरानो प्रविधिको प्रयोग गरिएको थियो । यसले आँखामा चोटपटक लाग्न सक्ने सम्भावना थियो र एक दिनमा ८० जनाभन्दा बढी बिरामीको प्रेसर चेक गर्न सम्भव थिएन । तर, एनसिटी उपकरणको जडानसँगै अस्पतालले एक दिनमा २०० जनासम्मको आँखाको प्रेसर चेक गर्न सक्ने क्षमता हासिल गरेको छ ।

यसले उपचार प्रक्रिया छिटो र अझै सुरक्षित भएको छ । अस्पतालका अध्यक्ष नरेशप्रसाद सिंहले विगतमा पुरानो प्रविधिको कारण आँखामा चोटपटक लाग्ने जोखिम हुने गरे पनि अब हामी आँखाको प्रेसर नछोइकन मापन गर्न सक्छौं । यसले बिरामीको उपचारलाई सजिलो बनाएको बताए ।

जानकी आँखा अस्पतालका निर्देशक डा. आशिष बोहोराले अस्पतालले १० लाख मूल्यको एनसिटी उपकरण खरिद गर्न ५० प्रतिशत रकम आफैं उठाएको जनाउँदै बाँकी ५० प्रतिशत रकम एभरेष्ट बैंक जनकपुरधाम शाखाले सहयोग गरेको बताए । यसका साथै, अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरूको संख्या पनि बढेको छ । अस्पतालले आम नागरिकलाई घाममा अनावश्यक ननिस्कन र आँखा पाकेका बिरामीहरूलाई चिकित्सकसँग जाँच गराउन आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News