
माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जनाएअनुसार बिहीबार बिहान ८ बजे देशभर एकैसाथ शुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।
बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । यसवर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमध्ये मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुने छन् । कार्यालयले एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।
यस पटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाण्डु र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था पनि गरिएको बताए । यस्तै यसपाली कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआईभी सङ्क्रमित विद्यार्थीले एसईई परीक्षा दिने छन् ।
परीक्षा चैत ७ गतेदेखि शुरु भएर १९ गते सकिने भएको छ भने परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषय, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ् लिस, चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ ।
१३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितियको परीक्षा हुनेछ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ भने चैत १९ गतेसम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य रहेको जनाइएको छ । २०८० सालको एसईईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएको थियो ।
गतवर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी भएका थिए ।