सिरहाको औरही गाउँपालिका– ५ मा एक विपन्न डोम परिवारमाथि भएको अत्याचारको घटना बाहिरिएसंगै जनप्रतिनिधिसमेत फरार भएका छन् ।
विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहेका दलित दीपक मरिक (डोम) को भत्काइएपछि अन्यत्र सारिएको छ । चैत १७ गते शुरु हुने विष्णु महायज्ञको लागि यज्ञ स्थलको मुखमा ऐलानी जग्गामा बस्दै आइरहेका दीपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ ।
उनीहरुलाई सारेपछि अछुत भन्दै दुई फिट जमिन नै ताछेर उनीहरुले हटाउँदै शुद्धिकरण बजरंगीबाबाले गरेको आरोप लगाइएको छ । आफू बस्दै आएको घर खाली गराउन पुरै गाउँलेले सहमति गरेपछि बाध्य भएर घर खाली गर्नु परेको दिपक मरिकको श्रीमती अनिता मरिकले जानकारी दिए ।
अहिलेको जमानामा पनि अन्धविश्वास पत्याएर स्थानीय सरकारले नै दलित, विपन्न एवं बेसहारा परिवारको सानो संसार उजाड्न जेसीभी लगाएर उठिबास गराएका छन् । दीपक मरिक र अनिता मरिकको त्यो घर जनता आवास कार्यक्रममार्फत पाँच वर्षअघि सरकारले नै बनाइदिएको थियो । दीपक र अनिता गाउँपालिका र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रका सफाइकर्मी हुन् ।
करारमै भए पनि उनीहरू सरकारी कार्यालयमै सेवा गरिरहेका थिए । गाउँपालिका अध्यक्षले घर भत्काउन डोजर पठाएको दिन पनि उनीहरू काममै हुन्छन् । केही दिन अघि मात्रै दीपक र अनिताले घरमा बुहारी भित्र्याएका थिए । डोजर आउँदा घरमा उनीहरूकी बुहारी र ससाना केटाकेटी मात्रै थिए । भूमि पूजन गर्नु छ भन्दै हतारिएका बजरंगी बाबाले घरबाट तुरुन्तै सामान झिक्न आदेश दिए ।
अनिताकी बुहारी र केटाकेटीले भ्याएजति र सकेजति सामान निकाल्न भ्याए । त्यत्तिकैमा डोजरले घर भत्काउन थाल्छ । झिक्न नभ्याएका केही समान त्यहीँ पुरिन्छन् । ३० वर्षदेखि त्यो ठाउँमा बसेका मरिक परिवारले ५ वर्षअघि मात्रै दुईकोठे पक्की घर पाएका थिए । त्यो पनि निमेषभरमै डोजरले ढालिदिएको थियो ।
आफूलाई रोजगारी दिएका गाउँपालिका अध्यक्षले अर्को व्यवस्था गरिदिने आश्वासन दिँदा दीपकले मुन्टो हल्लाएर सहमति दिएका थिए । दीपक र अनिताका लागि त्यो घर केवल इँटाको थुप्रो थिएन, सपनाको संसार नै थियो । वर्षौंपछि उनीहरू सुरक्षित घरमा बस्न पाएका थिए । गाउँमा ट्युबवेलको छेउमा समेत जान नपाउने उनीहरूले आफ्नै खर्चमा ट्युबवेल बनाएर खानेपानीको व्यवस्था गरेका थिए ।
राजमार्गबाट अलिक भित्रै भएकाले केटाकेटीका लागि पनि सुरक्षित थियो । तर ३० वर्षदेखि बसेको थातथलो, बालबच्चाको नाभी जोडिएको घर अनि नयाँ बुहारी भित्र्याएको आँगन एकैछिनमा उजाडियो । घर मात्र होइन, पालिकाले उनीहरूको मन पनि भत्काइदिएको थियो । विपत्ति आउनुअघि घरछेउमै १०८ विष्णु महायज्ञ लाग्ने खबरले अरु गाउँले जति खुसी थिए, मरिक परिवारको खुसी त्योभन्दा कम थिएन ।
तर उनीहरूलाई के थाहा, महायज्ञको नाममा उनीहरूको उठिबास लाग्दै छ भनेर । सरकारले बनाइदिएको मरिक दम्पतीको घर पालिकाले भत्काइदिएको घटना झण्डै एक महिनासम्म गुपचुप राखि दिएको थियो । अन्यायमा परेको परिवार एकातिर, अनि सिंगो स्थानीय सरकार र समाज अर्कातिर भएकाले सबै तैँ चुप मैँ चुप थिए ।
जागिरबाट निकालिने डरले दीपक र अनिताले कतै उजुरबाजुर गर्ने हिम्मत गरेनन् । पीडित अनिताले गाउँपालिकाका अध्यक्ष र वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएर हट्न बाध्य पारेको बताइन् । उनले आफ्नो पुरानो घर बिर्सेकी छैनन् । त्यसैले त घरको एक–एक भग्नावशेष टिपेर फुसको छाप्रोनजिकै ल्याएर थोपरेकी छन् । उनी आफैँ मुटुको बिरामी पनि छन् ।
यज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी यादवले मरिक परिवारको घर भत्काएको स्वीकारेका छन् । अर्को व्यवस्था गरेर उनीहरूको सहमतिमै सारिएको उनले जिकिर गरे । मरिकको घर स्थानीय सरकारले नै भत्काइ दिएपछि राष्ट्रिय दलित आयोगमा न्यायको याचना गर्दै उजुरी दिएका छन् ।
स्थानीय दलित अभियन्ता कबुल पासवानले मरिक परिवारले न्याय पाउनुपर्ने बताए । मरिक परिवारमाथि जे भयो, त्यो नेपालको संवैधानिक प्रतिबद्धता, संयुक्त राष्ट्रसंघ दलित अधिकार प्रस्ताव अनि अन्तर्राष्ट्रिय नागरिक र राजनीतिक अधिकार सन्धिको उल्लंघन हो । दलित आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायले पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याएर दलित समुदायप्रति राज्यको जवाफदेहिता र न्यायको सन्देश स्थापित गर्नुपर्छ ।
यता घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनले तीनै जना आरोपीलाई पक्राउ गर्न खोजिए पनि उनीहरू फरार रहेको जनाइएको छ । यस घटनामा स्थानीयवासीले किटानी जाहेरी दिने तयारी गर्दै सामाजिक न्यायको लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । त्यस्तै मधेश प्रदेशसभाका सांसदहरुले आपत्ति जनाएका छन् । उनीहरुले मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।


