२०८१ चैत्र ८, शुक्रबार ०८:१६

देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालनका क्रममा अनियमितता र परीक्षाको मर्यादा भंग गर्ने कार्यहरू बढ्दै गएको देखिएको छ ।

परीक्षाको पहिलो दिनमै विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न र परीक्षामा अनधिकृत रूपमा सहयोग पुर्याउने कार्यमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा ४ सय २४ वटा मोबाइल फोन बरामद गरिएको छ भने परीक्षाको मर्यादा भंग गरेको आरोपमा एक जना परीक्षा निरीक्षक र एक जना बाहिरी व्यक्ति पक्राउ परेका छन् ।

रौतहटको यमुनामाई गाउँपालिका–५ स्थित यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रमा एक जना परीक्षा निरीक्षकले परीक्षार्थीहरूबाट रकम लिई मोबाइल प्रवेश गराएको पाइएको छ । प्रहरीका अनुसार परीक्षामा चिट चोर्नका लागि परीक्षार्थीहरूलाई सजिलो बनाइदिने उद्देश्यले परीक्षा निरीक्षकले उनीहरूबाट आर्थिक लाभ लिएको प्रमाण फेला परेको हो।

चेकजाँचका क्रममा परीक्षार्थीहरूका शरीरमा लुकाइएका मोबाइल फोनहरू फेला परेपछि यस विषयमा थप अनुसन्धान थालिएको छ । यसैगरी मौलापुर नगरपालिका–५ स्थित लक्ष्मिनिया मावि मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिले परीक्षार्थीहरूसम्म चिट पुर्याउने प्रयास गरिरहेका बेला निगरानी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस वर्षको एसईई परीक्षामा परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा प्रवेश गर्ने प्रयासहरू व्यापक रूपमा देखिएको छ। चेकजाँचका क्रममा ४ सय २४ वटा मोबाइल फोन विभिन्न परीक्षा केन्द्रहरूबाट बरामद गरिएको छ।

परीक्षाको मर्यादा भंग गर्ने कार्यमा संलग्नलाई कडाइका साथ कारबाही गरिने बताइएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार परीक्षामा मोबाइल लुकाएर प्रवेश गर्ने कार्य नियन्त्रण गर्नका लागि थप कडाइ अपनाइनेछ। डीएसपी रायले भनेपरीक्षाको शुद्धता र मर्यादा कायम राख्नका लागि सुरक्षा व्यवस्था थप कडा पारिनेछ। परीक्षाको समयमा परीक्षार्थीहरूलाई कुनै पनि प्रकारको अनियमित गतिविधि गर्न नदिनका लागि कडा निगरानी गरिने छ ।

एसईईमा खटिएका ३ जना निरिक्षक निष्कासित

सर्लाहीको दुई वटा एसईईको परीक्षा केन्द्रमा खटिएका तीन जना निरीक्षकलाई परीक्षामा अनियमितता गरेको आरोपमा निष्कासित गरिएको छ । शिक्षा समन्वय इकाई कार्यालय सर्लाहीले जनाएअनुसार निरीक्षकहरूलाई परीक्षार्थीहरुलाई चिट चोर्न सहयोग गरिरहेको अवस्थामा पक्रेर कारबाही गरिएको छ । रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय (बलरा नगरपालिका–४) मा खटिएका निरीक्षक रिंकु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिब जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बाबुलाल रायलाई परीक्षामा अनुचित सहयोग गरेको भेटिएको थियो । शिक्षा समन्वय इकाई कार्यालयका अधिकारीहरूले एसईई परीक्षा निष्पक्ष बनाउन यस्ता अमर्यादित क्रियाकलापमा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्ने नीति अपनाएको बताए । उनले बाँकी परीक्षा केन्द्रहरूको अनुगमनलाई पनि थप कडा बनाउने जनाएको छ ।

ठूलो मात्रामा चिट बरामद

महोत्तरीको सोनमा गाउँपालिकाको माध्यमिक विद्यालय खखना लोटना एसईई परीक्षा केन्द्रका परीक्षार्थीका साथबाट ठूलो मात्रामा गेसपेपर, चिट र उत्तर लेखिएका फ्लाप बोर्ड बरामद भएको छ । परीक्षा शुरु भएको केहीबेरमै परीक्षा केन्द्रमा अंग्रेजी विषयको प्रश्नको जवाफ लेखिएको फ्लाप र कम्प्युटर टाइप भएको फोटोकापी विद्यार्थीहरुको हातहतमा पुगेको थियो । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने नेतृत्वमा खटिएको अनुमगन टोलीले ठूलो मात्रामा चिट बरामद गरिएको बताए । विद्यार्थीलाई बाहिरबाट फ्लाप दिँदा सुरक्षार्थ खटेका प्रहरीले कुनै अवरोध नगरेको र भित्र परीक्षार्थीले उत्तर सार्दा परीक्षा निरीक्षकले छुट दिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । केन्द्राध्यक्ष अरुणकुमार यादवले बाहिरबाट चिट ल्याउन सहजताका लागि झ्याल नभएको सडक छेउका कोठामा परीक्षा सञ्चालन गरेको आरोप छ । यादवले परीक्षा केन्द्रबाहिर अभिभावकको भीडले चिट नियन्त्रण गर्न समस्या भएको स्वीकारेका छन् । पर्खालमाथि चढेर झ्यालबाट चिट पु¥याउँदै दृश्य निकैबेर चलिरहेको देखिन्थ्यो । अन्य परीक्षा केन्द्रको परीक्षा विगतभन्दा मर्यादित भए पनि खखना केन्द्रमा सुधार नभएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । महोत्तरीमा ३२ परीक्षा केन्द्रमा ११ हजार १ सय ६१ जना परीक्षार्थी सहभागी छन् । परीक्षा अमार्यादित मनाउनेलाई कारबाही थालिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News