पर्सामा प्रहरी कर्मचारीले एकजना वडाध्यक्षलाई कुटपीट गरेको घटना बाहिरिएको छ । वीरगञ्ज महानरपालिका–२५का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो ।
आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना गत फागुन २९को राति सवा ९ बजेको समयको हो । वीरगञ्ज महानगरपालिका–८स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मिलन कार्यक्रममा गएको समयमा आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।
आफूमाथि ६/७ जनाको समूहले आक्रमण गरेको उनको भनाइ छ । सीसीटीभी फुटेजमा समेत आक्रमण भएको देखिन्छ । पार्टी प्यालेसमा खानपिन भइरहेका बेला एक समूह हो–हल्ला गर्दै वडाध्यक्षमाथि आक्रमणमा उत्रिएको दाबी गरिएको छ । सीसीटीभी फुटेजमा वडाध्यक्ष चतुर्वेदीसहित चार जना खानपानमा व्यस्त रहेको देखिन्छ ।
त्यही समयमा निलो ज्याकेट लगाएका व्यक्ति उनीहरू भएको ठाउँ नजिक आइपुग्छन् । बसेर खाइरहेका चारमध्ये एक जना उठेर निलो ज्याकेट लगाएका व्यक्तिलाई बाहिर पठाउन खोजेको फुटेजमा देखिन्छ । फोनमा कुरा गर्दै आएका ती व्यक्ति बाहिर जान मान्दैनन् र भित्र पस्छन् । उनकै पछिपछि अरू व्यक्ति पनि आएको देखिन्छ ।
यही मौकामा पार्टी प्यालेसको अर्को ढोकाबाट एक हुल मान्छे जबरजस्ती भित्र प्रवेश गरेको देखिन्छ । त्यही समूहले वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको फुटेजमा देखिन्छ । उक्त आक्रमण गर्ने समूहमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सईसमते रहेको आरोप छ । त्यहाँ दुई पक्षबीच अन्धाधुन्दा आक्रमण हुन्छ । आक्रमणबाट घाइते भएका वडाध्यक्ष चतुर्वेदी उपचारपछि अहिले घर फर्केका छन् ।
गत चैत ४मा उजुरी दिए पनि प्रहरीले अहिलेसम्म तदारुकता देखाएर कारबाही नगरेको उनको गुनासो छ । यसअघि आफूमाथि साइबरको मुद्दा चलेको र त्यहीको बदलाका कारण आक्रमण गरिएको हुनसक्ने वडाध्यक्ष बताउँछन् ।
यता घटनाबारे प्रहरीले छानबिन गरिरहेको मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले बताए । ‘प्रहरीकै सई समेत संलग्न भएको सीसीटीभी फुटेजमा देखिएको भनिएको छ । प्रहरी हुने बित्तिकै जोगाउन लाग्यो भन्ने होइन,’ डीआईजी आचार्यले भने, ‘दुई पक्ष नमिलेको अवस्थामा प्रहरी नै भए पनि कानुन बमोजिम कारबाही हुन्छ । त्यसका लागि निर्देशन समेत दिइसकेको छु ।’
होलीको दिनको घटना भएकाले सामान्य वादविवादको विषय भए छलफल गरी मिलापत्र पनि हुनसक्ने भयो । तर उजुरी नै आएको र मिलापत्र नभएको अवस्थामा कानुन बमोजिम अघि बढ्ने उनी बताउँछन् ।
यता वडाध्यक्षमाथि आक्रमण गरको आरोप लागेका वरिष्ठ सई राणा लामो समय तराईका क्षेत्रमा सादा पोशाकमा बसेर काम गरेका प्रहरी हुन् । लामो समय तराईमा बसेका घुमुवाहरूलाई हटाउने नीति अनुसार तत्कालीन आईजी कुँवरले बरिष्ठ सई राणालाई पनि तराईबाट हटाएका थिए ।


