
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पुराना दलबाट परिवर्तन सम्भव नभएको बताएका छन्।
शनिबार जनकपुरमा पार्टीको पहिलो महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन गर्दै भट्टराईले पुराना पार्टीले देशलाई नयाँ उपलब्धि नदिने दाबी गर्दै वैकल्पिक शक्ति एकजुट भएर हिँड्नुपर्ने बताएका हुन्।
लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र ढंगले बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको बताउँदै भट्टराईले अब जनताले विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरुलाई छान्नुपर्ने बताए।
उनले पुरानै व्यवस्थामा फर्कने भन्ने कुरा भ्रम रहेको पनि बताए। ‘हामी पछाडि फर्किने कुरा हुँदैन्। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ,’ उनले भने। त्यसकारण लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक रहेको बताए।
अध्यक्ष भट्टराईले राजतन्त्र ‘भूत’ भएकाले वास्तविकता सम्भावना नभएको पनि बताए। ‘राजतन्त्र भूत हो, भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना,’ उनले भने।
पञ्चायती शासन चलाउने सपना देख्नेहरू अहिले आफै द्विविधामा रहेको उनले बताए। ‘तसर्थ, सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ,’ उनले भने।
अध्यक्ष भट्टराईले राजा र राणाका पालामा आजभन्दा तीन गुणा बढी भ्रष्टाचार हुने बताए।
‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे। त्यसैले जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न-लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो। राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो,’ उनले भने।