२०८१ चैत्र १०, आईतवार ०८:१७

जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दाबी गरेका छन् । उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि कांग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो भएको बताए ।

जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका कांग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको आरोप लगाए ।

‘३५ वर्ष कम समय होइन । तर, गरीबी तथा रोजगारीको समस्या समाधान हुन सकेन । कुनै पनि क्षेत्रमा देशको विकास हुन सकेन, यो देशको शासन कसले गर्यो ? उही नै जिम्मेवार हो, ’उनले भने ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले कांग्रेस–कम्युनिष्टको शासनमा भ्रष्टाचार र कमिशनतन्त्र बढेको समेत आरोप लगाए । जनता शिक्षित र स्वस्थ भए मुलुक विकसित हुने उनको भनाइ छ ।

नेपालको अर्थतन्त्र मजबुत बनाउन कृषिको विकास आवश्यक छ, किसानको जीवनस्तर नउठाएसम्म गरीबीको अन्त्य हुँदैन । उद्योग, कलकारखानाले रोजगारी दिन्छ । तर त्यो पनि बन्द छ, शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको छ । काँग्रेस–कम्युनिष्टको गलत नीतिकै कारण यस्तो अवस्था आएको हो ’उनले भने ।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटन र जलस्रोतको विकास गरी देशबाट गरीबी हटाउन सकिने जसपा नेपालको धारणा रहेको बताए । उनले विगतमा भएका आन्दोलनहरुले स्वतन्त्रता र अधिकार दिए पनि समानता भने हुन नसकेको बताए । लोकतन्त्र भनेको नागरिक स्वतन्त्रता मात्र होइन समानता पनि हो, उनले भने । समानताका लागि सबैलाई बराबर अधिकार र भेदभाव हटाउनुपर्ने उनले बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङ, निलम यादवसहित विभिन्न पार्टी परित्याग गरी २ सय जना बढी जसपा नेपालमा प्रवेश गर्नुभएको पार्टीको रुपन्देही अध्यक्ष सियाराम यादवले बताए ।

Comment


Related News

Latest News

Trending News