
मधेश प्रदेशको शैक्षिक वातावरणलाई व्यवस्थित र सुदृढ बनाउन कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एसोसिएशन गठन गरिएको छ ।
जनकपुरधामस्थित प्रमुख कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरूको छाता संगठनको रूपमा गठन भएको यस एसोसिएशनको अध्यक्षमा सत्यम कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका प्रमुख सत्यम यादव चयन भएका छन् । एसोसिएशनले दर्ता भएका कोचिङ्गहरूलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै डकटेक एजुकेशनका संजय साहले जनकपुरधामको शैक्षिक अवस्थालाई सुधार गर्न एसोसिएशनको गठन गरिएको स्पष्ट पारे । उनले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई सक्षम बनाउन र यहाँको शैक्षिक जगलाई मजबुत पार्नु हो । यो एसोसिएशनले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि एकताबद्ध रूपमा काम गर्नेछ ।’
त्यस्तै एम्स कोचिङ्गका आर्यन साहले एसोसिएशनको मुख्य उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनु रहेको बताएका छन् । अहिलेसम्म एसोसिएशनमा ४२ वटा कोचिङ्ग सेन्टर आबद्ध भइसकेका छन् । जनकपुरधाममा कुल ८० वटा कोचिङ्ग सेन्टरहरू सञ्चालनमा रहेका छन् । एसोसिएशनमा आवद्ध कोचिङ्गहरूमा १० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।