
चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे बचाउन फेरि आन्दोलनको घोषणा गरेको छ ।
अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू सार्वजनिक गर्न आइतबार जनकपुरधाममा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवले चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिने छ । सो क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रम गरिने योजना रहेको बताए ।
यही चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवन अगाडि अनिश्चितकालीन विरोध कार्यक्रम आयोजना गरिने उनले बताए । राष्ट्रिय सम्मेलनबाट अभियानको केन्द्रीय अध्यक्षमा सुनिल कुमार यादव (बारा) सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा सुक्रिती आर्चाय (भक्तपुर) र राजेश भण्डारी (सर्लाही) चयन भएका छन् भने महासचिवमा बासुदेव डल्लाकोटी (धादिङ) चयन भएका छन् । सचिव पद खाली राखिएको छ भने कोषाध्यक्षमा नन्दकिशोर राम (रौतहट) सहित २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
त्यस्तै अभियानको प्रवक्तामा प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा दीपक कुमार कर्ण चयन गरिएको छ ।
सो पत्रकार सम्मेलनमार्फत महासचिव बासुदेव डल्लाकोटीको नेतृत्वमा बाँकी रहेका प्रदेश तथा जिल्ला समितिहरू जेष्ठ मसान्तभित्र गठन गर्ने निर्णय गरिएको उनले बताए । केन्द्रीय अध्यक्ष सुनिल कुमार यादव दोश्रो पटक अध्यक्ष बनेका हुन् ।