२०८१ चैत्र ११, सोमबार ०७:३३

सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

सिरहामा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पक्राउ परेका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई हिरासतमा राखि अनुसन्धान गर्नका लागि सिरहा जिल्ला अदालतले थप पाँच दिन म्याद थपेको छ ।

सिरहाका प्रहरी प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार आइतबार सिरहा जिल्ला अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा उनीहरूमाथि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । औरही गाउँपालिका–५ मा आउँदो चैत १७ गतेदेखि औरहीमा हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएको आरोप छ ।

यस घटनामा पीडित दीपक मलिकले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । सो घटनामा अझै फरार रहेका बजरंगी बाबाको भने खोजीकार्य भइरहेको उनले बताए । इता जनता समाजवादी पार्टी (जसपा) नेपालले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई अविलम्ब रिहा गर्न माग जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

जसपाले सिरहा प्रहरीले ८ चैतमा गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीपलाई छलफलको लागि बोलाएर बिना पूर्व सूचना थुनामा राखेको आरोप लगाएको छ । जसपाका अनुसार यस घटनामा झूटा आरोप लगाएर छुवाछुतसम्बन्धी मुद्दा लगाइएको छ । पार्टीले यो केवल राजनीतिक प्रतिशोधको एक अंश रहेको र यसलाई आफूहरुले स्वीकार गर्न नसक्ने जनाएको छ ।

सो ज्ञापन पत्र बुझाउँदै जसपा नेपालका सिरहा जिल्ला अध्यक्ष अशोक यादवले गाउँपालिका अध्यक्ष जस्तो सम्मानित पदमा रहेका जनप्रतिनिधिलाई यस्ता कारणले थुनामा राख्नु उचित नरहेको जिकिर गरे । साथै, उनले प्रहरीले यादव र अन्यको सवार मोटरसाइकल समेत नियन्त्रणमा लिएको घटनालाई मानवअधिकार उल्लंघनको रूपमा लिइएको छ ।

Comment


Related News

Latest News

Trending News