
मुख्यमन्त्री सतीशकुमार सिंहले अमर्यादित रुपले चलिरहेको पत्रकारितामाथि लगाम लगाउनुपर्ने धारणा राखेका छन् ।
जनकपुरमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण तथा छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अमर्यादित रुपमा पत्रकारिता गर्नेहरुका कारण सही र मर्यादित रुपमा पत्रकारिता गरिरहेकाहरुको जीवन ओझेलमा परेको ठोकुवा गरे । अहिले पत्रकारिता सही छ कि गलत त्यसलाई ठम्याउन मुस्किल भएको उनले बताए ।
उनले भने, ‘अहिलेको समयमा पत्रकारिता माथिको विश्वसनीयता दिन प्रतिदिन घटी रहेको छ । किन घटिरहेको छ ? आज पनि त्यही पत्रकारिता छ, त्यही पेपर छ, तर पनि विश्वसनीयता घटिरहेको छ’, मुख्यमन्त्री सिंहले अघि थप्दैँ भने, ‘यदि तपाई मप्रति सकारात्मक हुनुहुन्छ भने मेरो गलत कुरालाई पनि सही ढंगले लेख्नुहुन्छ, यदि मप्रति नकारात्मक हुनुहुन्छ भने मेरो सही कुरालाई पनि नकारात्मक रुपमा प्रस्तुत गर्नुहुन्छ ।’
अहिले धेरै अनलाइन मिडिया, युट्युब दर्ताको प्रक्रियामा रहेको र नरहेकाहरुले समेत सामाजिक सञ्जालमा भ्रमात्मक रुपमा पस्किने गरेको उनको भनाइ छ । उनले यस्ता कार्य दुःखद रहेको भन्दै प्रदेश सरकारले आमसञ्चार प्राधिकरणको माध्यमबाट विभिन्न योजनाहरु ल्याएको बताए । उनले आगामी दिनमा बजेटभन्दा पहिला सरोकारवालसंग छलफल गरेर सुधारका लागि कस्ता कस्ता कार्यक्रमहरु ल्याइने बताए ।
उनले आर्थिक मन्दीका कारण पत्रपत्रिका, टिभी, अनलाईन लगायतमा मुल पेशा बनाएर पत्रकारिता गरिरहेकाहरुको जीवनयापनमा समेत असर परेकाले केन्द्रीय सञ्चार मन्त्रालयलाई उनीहरुका लागि ठोस मापदण्ड आउनुपर्ने बताए ।