२०८१ चैत्र ११, सोमबार ०७:४०

रौतहट उद्योग वाणिज्य संघमा आन्तरिक विवाद चुलिएको छ । संघका महासचिव रविन्द्र गोपालीले संघका अध्यक्ष पण्डित प्रसाद जयसवालमाथि पद मोहको आरोप लगाएका छन् ।

महासचिव गोपालीले कार्यकाल सकिन लाग्दा समेत अध्यक्ष जयसवालले निर्वाचन गर्न नचाहेको र कार्यकाल लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलन आयोजना गर्दै संघका महासचिव गोपालीले चैत २३ गतेका लागि आह्वान गरिएको साधारण सभामा अध्यक्ष पक्षले सहभागी नहुने जनाइएको बताए । गोपालीले संघको कार्यसम्पादन अध्यक्षको पद मोहका कारण लथालिंग बनेको दाबी गरे । गोपालीले भने, ‘ हामीले पटक–पटक अध्यक्ष जयसवाललाई साधारण सभा र निर्वाचन गर्न आग्रह गरेका थियौं । तर उहाँले हाम्रो मागलाई अटेर गर्दै कार्यकाल लम्ब्याउने मनसाय देखाउनुभयो। त्यसैले म महासचिवको हैसियतले विधानअनुसार साधारण सभा आह्वान गरेको हुँ ।’

यसै विषयमा अध्यक्ष पण्डित प्रसाद जयसवालले पनि पत्रकार सम्मेलन गर्दै महासचिव गोपालीको आरोप निराधार रहेको बताएका छन् । अध्यक्ष जयसवालले विधान विपरित सदस्यता वितरण गरिएको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाए । जयसवालले भने संघको विधानमा उल्लेख भएअनुसार आवश्यक कागजात नभएको अवस्थामा सदस्यता वितरण गर्न पाइँदैन ।

तर महासचिव गोपालीले एकतर्फी रूपमा सदस्यता वितरण गरेका छन्। विधानविपरित वितरण गरिएका सदस्यता मान्य हुँदैनन् । संघमा आन्तरिक विवाद बढ्दै जाँदा संघका पदाधिकारी तथा सदस्यहरूले फागुन २५ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा लिखित उजुरी दिएका थिए । उनीहरूले संघमा विधानविपरित कार्य भइरहेको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।

संघमा देखिएको विवादले स्थानीय व्यवसायीहरूमा अन्योल पैदा भएको छ। संघका प्रमुख पदाधिकारीहरूबीचको आरोप–प्रत्यारोपका कारण संघको नियमित कार्यसम्पादन प्रभावित भएको व्यवसायीहरूले गुनासो गरेका छन् ।

Comment


Related News

Latest News

Trending News