२०८१ चैत्र १२, मंगलवार ०८:३१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले भौतिक पूर्वाधार विकासलाई उद्यम, उत्पादन र रोजगारीसँग जोड्न नसकेको बताएका छन् ।

महोत्तरीको बर्दिबासमा सोमबार आयोजना गरेको ‘१ हजार दिनको उपलब्धि’ सार्वजनिक कार्यक्रममा मन्त्री भण्डारीले नागरिकले विकासको अनुभूति गर्न नसकेको बताएका छन् । मन्त्री भण्डारीले भने, ‘घरघरमा सडक, पानी, बिजुली पुगे पनि नागरिक सन्तुष्ट छैनन्,’ उनले अघि थप्दौ भने, ‘मुलुकमा नैराश्यताको वातावरण बनेको छ ।

गलत भाष्य निर्माण भएको छ । नैराश्यता र गलत भाष्य चिर्न पूर्वाधारमा आधारित उद्यमशीलता र रोजगारीका अवसर ल्याउनु पर्छ । विदेशबाट फर्केर आएका जनशक्तिको सीप र जागरलाई सदुपयोग गरी विकासको अनुभूति गराउनु पर्ने समय आएको छ ।’ बर्दिबास नगरपालिकाले भविष्यमा आफ्नो स्वरूप कता लैजाने भन्ने विषयमा अहिले नै छलफल गर्नु पर्ने उनले बताए ।

‘छिमेकी भारत र चीन जोड्ने मेगा प्रोजेक्ट अन्तर्गत भिठ्ठामोड– बर्दिबास–खुर्कोट हुँदै चीनसम्म जोडिने सडक बर्दिबास भएर जानेछ । पूर्व–पश्चिम विद्युतीय रेलको जक्सन पनि बर्दिबास नै हो,’ उनले भने, ‘दुई देशलाई जोड्ने सडक बर्दिबासबाटै जोडिँदै छ । हामीसँग दुई छिमेकीलाई एक– अर्कासँग लडाउने समय छैन । हामी मित्र हौँ । दुई देशलाई जोडेर विकासतर्फ अघि बढ्ने सोचका साथ अघि बढ्ने समय आएको छ ।’ सरकारले आगामी दशकलाई ‘रोजगारीको दशक’ का रूपमा मनाउन लागेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News