
सिरहाको औरही गाउँपालिका– ५ मा महायज्ञ गर्ने भन्दै एक दलित परिवारको पालिकाले घर भत्काएपछि दीपक मलिक अहिले न्याय खोज्दै मुख्यमन्त्री सतीशकुमार सिंह समक्ष पुगेका छन् ।
आफू असुरक्षित रहेको भन्दै सुरक्षाको मागसहित पीीडत दीपक मलिक मुख्यमन्त्री सिंहलाई भेटेका हुन् । दलितका अगुवासहित मलिक जनकपुरधाममा मंगलबार मुख्यमन्त्री निवास पुगेका थिए । त्यसक्रममा उनले आफ्नो परिवारमाथि ज्यादती गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि कानुनी कारवाही अघि बढेपछि आफूहरुमाथि निकै दबाब आएको र डरत्रास धाकधम्की पनि आउन थालेपछि आफूहरु असुरक्षित बनेको सुनाए ।
आफूलाई गाउँपालिका अध्यक्षका आफन्तहरुले अदालतमा गएर बयान फेर्न र मिलापत्र गर्न दबाब तथा धाकधम्की दिइरहेको भन्दै आफू लुकेर बस्न बाध्य भएको र आफूमाथि जतिखेर जे पनि हुनसक्ने गुनासा गरेका थिए । सबै कुरा थाहा हुँदाहुँदै पनि प्रहरीले आफ्नो परिवारको सुरक्षाको विषयलाई गम्भीरतापूर्वक नलिएको उनले गुनासो गरे ।
पीडित मलिकले आफ्नो घर भत्काइएपछि अहिले आफूहरूसँग बस्ने लायक घरसमेत नभएकोले घरको व्यवस्था गरिदिन पनि उनले मुख्यमन्त्री सिंहसँग माग गरेका छन् । मुख्यमन्त्री सिंहले भने मल्लिकलाई आफूले सुरक्षा र घरका विषयमा पहल गर्ने आश्वासन दिएका छन् । औरहीमा आउँदो चैत १७ गतेदेखि हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
यस घटनामा पीडित मलिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा तीनै जनाविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग दाबी गरेका छन् ।
सो घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष गत शुक्रबार नै पक्राउ परिसकेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा छन् । भने अन्यको खोजी भइरहेको जनाइएको छ ।