
ग्याङबाट कुटिएका वडाअध्यक्षको विरुद्ध नै पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जमा प्रहरी, पत्रकार, जनप्रतिनिधिलगायतको ‘ ग्याङ’बाट कुटिएका वडाध्यक्षविरुद्ध पनि सोमबार पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी माथि पक्राउ पुर्जी दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वडाध्यक्ष चतुर्वेदीलाई कुट्नेहरुले उनीविरुद्ध सरकारी वकिलको कार्यालय पर्सामा दिएको निवेदन आधारमा कुटिएका वडा अध्यक्ष बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मंगलबार जिल्ला अदालत पर्साले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए । ‘सरकारी वलिकको निवेदनका आधारमा उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अब दुवै पक्षलाई पक्राउ गरेरसँगै घटनाको अनुसन्धान अघि बढाउने एसपी मिश्रले बताए । वडाध्यक्ष चतुर्वेदी माथि कुटपिट प्रकरणमा गत १० गते प्रहरीले ७ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
वडाध्यक्षको ज्यान मार्ने उद्योगको जाहेरी पश्चात उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सो पक्राउ पुर्जी जारी भएपछि आरोपित पक्षले सरकारी वकिल मार्फत कुटिएका वडाध्यक्ष विरुद्ध नै जाहेरी दर्ता गराएका हुन् । वडाध्यक्ष कुटिएको विषयमा आइतबार नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरा, विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, भुषण यादव, माइस्थान पुल हाउसका सञ्चालक विक्की गुप्ता, नगवाका भुसाल चौरसिया र घडिअर्वाका लखन गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
उनीहरुमध्ये नगवाका भुसाल चौरसिया पक्राउ परेका छन् भने अन्य फरार छन् । उनीहरु ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदी माथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सार्वजनिक भएपछि प्रहरी जाहेरी दर्ता गर्न बाध्य भएको थियो ।