
बलात्कार घटनाका अभियुक्त फरार रहेका बेला उनको ठाउँमा इन्द्रदेव महतोले जमानी लिन पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका–१ स्थित भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएको घटनामा संलग्न व्यक्ति अझै फरार रहेका बेला प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ ।
पीडित महिलाले जनाए अनुसार फागुन २१ गते राति स्थानीय जिवछ महतो कोइरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका थिए ।
घटनाको अर्को दिन फागुन २२ गते पीडितले इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै सोही दिन अभियुक्त जिवछ महतोलाई नियन्त्रणमा लिएको थियो । तर घटनाको एक दिनअघि अर्थात् फागुन २० गते अभियुक्त जिवछ महतोकी आमाको निधन भएको कारण देखाउँदै हरिवन–४ स्थित सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनः उपस्थित गराउने सर्तमा अभियुक्तलाई हाजिरी जमानीमा छुटाएका थिए ।
तर काज किरिया सम्पन्न भए पनि जिवछ महतो प्रहरी समक्ष हाजिर नभइ फरार भए । यसपछि पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गराएकी थिइन् । अभियुक्त फरार भएपछि घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको पीडित परिवारले आरोप लगाएको छ । केही स्थानीय नेताहरूले पीडित पक्षलाई १५ लाख रुपैयाँको सेटिङ मिलाइदिने भन्दै प्रलोभन दिने प्रयास गरेको पनि आरोप लागेको छ ।
यसैबीच सोमबार प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ । पीडित परिवारले घटनाको न्यायिक छानबिन गरी मुख्य अभियुक्तलाई चाँडो पक्राउ गर्न माग गरेका छन् । सर्लाही प्रहरीले पनि अभियुक्तको खोजी तीव्र रुपमा गरिरहेको जनाएको छ ।