
सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
प्रतिपक्षहरूले अवरोध गरेपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।
सभामुखबाट पाएको ५ मिनेटको समयमा संसद्मा बोल्दै उनले घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी नगराउँदासम्म संसद् सुचारु हुन नसक्ने बताए ।
बस्नेतले बोलिसकेपछि प्रतिपक्षी दलका सांसदहरू गरेको अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन् ।