२०८१ चैत्र १४, बिहीबार १७:२५

आइसिसी यू-१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ माथि लगातार दोस्रो जित निकालेको छ।

वीरगञ्जमा बिहीबार भएको दोस्रो खेलमा दिल्लीलाई १०२ रनले पराजित गरेसँगै नेपालले तीन खेलको सिरिज अन्तिम खेलअघि जितेको छ।

नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्ली ९० रनमै अलआउट भयो। उसका लागि शन्तनु यादवले सबैभन्दा बढी ३० रन जोडे।

बलिङमा नेपालका अपराजित पौडेलले ५ विकेट लिए। उनले ७ ओभरमा ४ मेडन राख्दा ३८ रन दिए। नितिश पटेलले २ विकेट लिँदा विपिनप्रसाद शर्मा, नरेन भट्ट र अशोक धामीले १-१ विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि  कप्तान नरेन भट्ट र उपकप्तान अभिषेक तिवारीले अभ्यास खेलमा अर्धशतक प्रहार गरे। जससँगै नेपालले ९ विकेटको क्षतिमा १९२ रन जोड्यो।

खेलमा नरेनले ५२ रन जोडेका हुन्। उनले १२५ बल खेलेर ६ चौका प्रहार गरे

यस्तै उपकप्तान अभिषेक तिवारीले नेपालका लागि सबैभन्दा बढी रन जोड्ने क्रममा ६० रनको योगदान गरे। उनले ८२ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

कप्तान र उपकप्तानबाहेक नेपालका लागि अशोक धामीले १९ रन र सोहित कुँवरले ११ रन बनाए। अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा दिल्ली यू-१९ का शुभम् दुवेले ३ विकेट लिए। यस्तै आदित्य भण्डारी, अमन चौधरी र रौनक वाग्हेलाले २-२ विकेट लिए।

नेपालले पहिलो खेलमा दिल्लीलाई ५ विकेटले हराएको थियो।

विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफागानिस्तानसँग पनि तीन खेलको सिरिज खेल्ने तय छ। अफगानिस्तानसँगको सिरिज चैत २१ देखि मुलपानीमा हुनेछ।

नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।

नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।

यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।

नेपाली टोलीमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका विपिनप्रसाद शर्मासहित एसिया कपमा खेलेका युवराज खत्री छन्। यस्तै नरेन भट्ट, रोशन विश्वकर्मा, अभिषेक तिवारी, दयानन्द मण्डल पनि टोलीमा छन्। नरेनलाई कप्तान र अभिषेकलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

यू-१९ नेपाली टोली
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोषकुमार यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुवँर, विपिन कुमार शर्मा, नितेश पटेल, अमर मिश्र।

Comment


Related News

Latest News

Trending News