
रौतहटको चन्द्रपुरमा अवैधानिक रुपमा सञ्चालित चिनियाँ भाषा कक्षा बन्द गरिएको छ ।
करिब एक महिनादेखि पर्यटक भिसामा आएका चिनियाँहरुले चन्द्रनिगाहपुर क्षेत्रमा भाषा कक्षा सञ्चालनका लागि शंकास्पद गतिविधिसमेत गरेको भन्दै गुनासो आएपछि रौतहट प्रशासनले बन्द गराएको छ ।
चन्द्रपुरको वडा नम्बर १० र ६ मा भाषा कक्षा सञ्चालनमा रहेको थियो । बालचनपुर स्थित तेली समाज धर्मशाला, चन्द्रनिगाहपुर स्थित इभा खाजाघर र डाबरी जाने बाटोमा अनुमति नलिएर चार वटा कक्षा सञ्चालित गर्दै आएका थिए ।
सोको जानकारी स्थानीय प्रशासनले पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिइ सोधपुछ गरी कक्षा बन्द गराएका थिए । उनीहरुले बुधबारबाट सबै कक्षा बन्द गराएको डिएसपी राईले बताए । चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको थियो ।
बालचनपुरको तेली समाज धर्मशालाभित्र दैनिक करिब २ सय बालबलिकाहरु चिनियाँ भाषा पढिरहेको थियो । उनीहरुलाई चिनियाँ पर्यटक एलीनले कक्षा लिइ रहेकी थिइन् । पर्यटक भिसामा आएका उनीहरुसँग पढाउने अनुमति भने थिएन ।
निःशुल्क रुपमा भाषा कक्षा मात्र होइन, कक्षामा सहभागी बालबालिकाहरुलाई दैनिक प्रतिव्यक्ति ५० रुपैयाँ र शैक्षिक सामग्रीसमेत दिने गरेका थिए । भाषा कक्षामा सक्रिय विद्यार्थीलाई साइकल उपहारसमेत दिइएको जनाइएको छ ।
उपहार र दैनिक कक्षामा सहभागी भए वापत रुपैयाँ पाउने भएपछि स्थानीय बालबालिका विद्यालय विदा हुनेबित्तिकै भाषा कक्षामा जाने गरेका थिए । भविष्यमा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई चाइना जान सहज हुने भन्दै आफूहरुले भाषा सिकाएको एलीनको दाबी छ ।