
सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं.२ का प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायमाथि नेपाली काँग्रेसले पार्टीको मर्यादा र अनुशासन उल्लंघनको आरोप लगाएको छ ।
उनीमाथि अन्य विचारधाराका नेताहरूका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागिता जनाएर पार्टी र प्रमुख नेताहरूलाई अनावश्यक आरोप र गालीगलौज गर्ने आरोप छ । यसले पार्टीका आन्तरिक विवादलाई थप जटिल बनाएको र संगठनको एकता कमजोर बनाएको भन्दै आलोचना भएको छ ।
पार्टीका क्षेत्रीय कार्यसमितिले रायमाथि सर्लाही क्षेत्र नं. ४ बाट उजुरी प्राप्त गरेको जानकारी दिएको छ । उक्त उजुरीमा रायले पार्टीको मर्यादा र अनुशासनको उल्लंघन गर्दै बाह्य कार्यक्रमहरूमा भाग लिँदै आएको आरोप लगाइएको छ । पार्टीले रायलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । तर, उनको तर्फबाट कुनै जवाफ प्राप्त नभएको पार्टीका स्रोतले जनाएको छ ।
यसअघि पनि नेपाली काँग्रेसको जिल्ला कार्यसमितिले रायको कार्यशैलीमाथि विभिन्न अवसरमा प्रश्न उठाउँदै उनलाई सचेत गराएको थियो । त्यसैले, अनुशासन समितिले अब दोस्रो पटक पत्र पठाउँदै तीन दिनभित्र स्पष्टिकरण प्रस्तुत गर्न आग्रह गरेको छ । पार्टीका केहि नेताहरूको भनाइ अनुसार यसले पार्टीको आन्तरिक एकतालाई कमजोर पार्ने र संगठनको प्रतिष्ठामा नकरात्मक असर पार्ने डर व्यक्त गरिएको छ ।