
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ ।
रुपन्देहीकाे सिद्धार्थ रङ्गशालामा बागमतीले दिएको २ सय ६० रनको लक्ष्य मधेशले ६ विकेट गुमाएर २३ बलअघि भेटायो । मधेशका कप्तान अनिल साहले नटआउट ७० रन बनाए । बागमतीका सूर्य तामाङले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनायो । बागमतीका ईशान पाण्डेले शतक बनाए । प्रतियोगितामा ईशानको यो पहिलो शतक हो । यस्तै उनले प्रधानमन्त्री कप क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । मधेशका हरिशङ्कर शाह, पवन सर्राफ र अनिल साहले २/२ विकेट लिए ।
योसँगै बागमतीले चौथो र मधेशले सातौं स्थानमा रहेर प्रतियोगिता सकाएका छन् ।