२०८१ चैत्र १५, शुक्रबार ०९:१९

जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा एकरूप पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेकोमा अभिभावक संघले खुसी व्यक्त गरेको छ । अभिभावक संघ, मधेश प्रदेश कार्यालयले एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको यस निर्णयले विद्यार्थीहरूलाई समान शैक्षिक अवसर प्रदान गर्ने मात्र होइन, अभिभावकहरूको आर्थिक बोझलाई पनि कम गर्ने विश्वास गरेको जनाएको छ ।

विगतमा निजी विद्यालयहरूबीचको शैक्षिक भिन्नताका कारण प्रत्येक वर्ष नयाँ पाठ्यपुस्तक खरिद गर्नुपर्ने बाध्यता रहन्थ्यो । साथै, विद्यालय परिवर्तन गर्दा पुराना पुस्तकहरू प्रयोगविहीन हुने समस्या थियो । यो निर्णयले यस्तो अवस्थालाई अन्त्य गर्दै विद्यालयस्तरीय पाठ्यक्रममा समानता ल्याउने लक्ष्य राखेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको यो कदमले विद्यार्थी, शिक्षक र अभिभावकहरू सबैलाई लाभ पुग्नेछ । पाठ्यक्रमको एकरूपता कायम भएसँगै शिक्षकहरूको कार्यप्रणाली सहज हुने, शैक्षिक गुणस्तरमा सुधार आउने र विद्यार्थीहरूको समग्र शैक्षिक विकासमा टेवा पुग्नेछ ।

अभिभावक संघले यस निर्णयलाई स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ । साथै, यस निर्णयले सकारात्मक परिणाम ल्याउने विश्वास गर्दै सम्बन्धित सबै पक्षलाई सफल कार्यान्वयनका लागि योगदान दिन आग्रह गरिएको छ ।

Comment


Related News

Latest News

Trending News